alliance khabar

आइतबार, कार्तिक ०४, २०८१

दोलखा, कात्तिक ४ गते ।

दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ ।

तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अवस्थाबारे सुसूचित गराउन सकिएको वडा नं. १ का वडाध्यक्ष माधव थामीले बताउनुभयो । उहाँका अनुसार यहाँ जडित उपकरणमार्फत विशेष गरी तीन वटा विषयमा जानकारी हुने छ । पहिलो यस स्थानमा पानी कहाँ कति परिरहेको छ भन्ने कुरा मोबाइलमा थाहा हुन्छ । दोस्रो २४/२४ घण्टामा रिपोर्ट मोबाइलमा आउने गर्छ । तेस्रो माटोको चिसोपन कत्तिको छ भन्ने कुरा पनि यसै एपमार्फत जानकारी हुन्छ । यसका अतिरिक्त जमिनमा हलचल आएको छ कि छैन भन्ने कुरा पनि एपबाट प्राप्त हुँदै आएको छ ।

यो उपकरण जडान गरेपछि दुई पटक पहिरोको पूर्वानुमान गरेर नागरिकलाई सन्देश पठाएको र सुरक्षित ठाउँमा जान सजिलो भएको वडाध्यक्ष थामीको अनुभव रहेको छ । २४ घण्टाभित्रै १२० मिलिमिटर पानी परेको हुँदा धेरै ठाउँमा सानातिना पहिरा गएका थिए ।

यो एपबाट पहिरोको अभिलेख हेर्दा वर्षायाममा एक सयभन्दा बढी सानाठुला पहिरा गएका छन् । त्यसमध्ये पनि यस वर्ष बोसिम्पामा २५/३० वटा सानातिना पहिरा गएको नगरपालिका नगर आपत्कालीन सञ्चालन केन्द्रको अभिलेखमा देखिन्छ । अत्यधिक वर्षा हुने भएकाले पनि बोसिम्पा पहिरोको उच्च जोखिममा छ । युएसएआइडी नेपालको सहयोगमा भीमेश्वर नगरपालिका–१, बोसिम्पामा पूर्वसूचना प्रणाली अन्तर्गत उपकरण जडान गर्नुका अतिरिक्त नागरिक वैज्ञानिकमार्फत पनि वर्षाको मात्रा मापन र अध्ययन थालिएको छ ।

एसिएन डिजास्टर प्रिपेयरनेस सेन्टर (एडिपिसी) को आर्थिक सहयोग र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा भीमेश्वर नगरपालिकाभित्र नागरिक वैज्ञानिकसमेत खडा गरिएको छ । प्रत्येक वडामा वर्षाको मात्रा मापन गर्न ५५ जनालाई तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको विपत् व्यवस्थापन सम्पर्क अधिकृत एवं पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो ।

तालिमप्राप्त नागरिक वैज्ञानिकले पनि आफ्नो टोलबस्तीमा कहाँ कति वर्षा भएको छ भन्ने कुरा सहजै जानकारी प्राप्त गर्न सक्छन् र ती कुरा सम्बन्धित निकायमा जानकारी गराउँछन् । पहिरो एप अर्थात् अलर्ट भीमेश्वरले सूचना विस्तृतीकरणमा झन् ठुलो टेवा पुर्‍याएको छ ।

अलर्ट भीमेश्वरलाई प्रभावकारी बनाउनका लागि नगर आपत्कालीन सञ्चालन केन्द्रले १५ जनाको टिममा म्यासेज पठाउने व्यवस्था गरेको छ । त्यस्तै २४ घण्टाको अवधिमा कहाँ कति पानी पर्‍यो भनेर सामाजिक सञ्जाल र स्थानीय एफएम रेडियोबाट समेत प्रसारण गर्दै आएको राउतले जानकारी दिनुभयो ।

यस्तै पहिरो एप धादिङको नीलकण्ठ नगरपालिकामा पनि सञ्चालनमा ल्याइएको छ । भीमेश्वर नगरपालिकाले सञ्चालन गरेको नगर आपत्कालीन सञ्चालन केन्द्रको रेकर्ड अनुसार भूकम्प, आगलागी, चट्याङ, सडक दुर्घटना, जनावर आक्रमण, डुबान, विद्युत् दुर्घटना, महामारी, हावाहुरी, भूकम्पलगायतको घटनाभन्दा बढी बाढीपहिरोमै परेर मृत्यु भएको देखिन्छ ।

२०७७ सालदेखि २०७९ सालसम्मको डाटा अनुसार जिल्लाभर बाढीपहिरोमा १५० जनाको मृत्यु भएको देखिन्छ । त्यसैले पनि भीमेश्वर नगरपालिकालगायत युएसएआइडी तयार नेपालले विपत्लाई पहिलो प्राथमिकता दिएको छ । जसमध्ये पहिरोबाट जोगिनका लागि विभिन्न विधि अपनाएको छ ।

पहिरोमा आधारित पूर्वसूचना प्रणालीले पहिलो पटक भीमेश्वरलाई लाइभ डेटाको युगमा प्रवेश गराएको छ । यसबाट प्राप्त मौसमसम्बन्धी डेटा र मूलतः बर्सातको डेटाले प्रत्येक वर्ष मनसुन अवधिमा हुने सानाठुला पहिरो पूर्वतयारीमा महत्वपूर्ण योगदान दिएको छ ।

यसलाई नै आधार मानेर भीमेश्वरले हाल जल तथा मौसम विभागको सहकार्यमा प्रभावमा आधारित पूर्वानुमान जारी गर्न थालेको छ । यसको सिकाइले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा महत्वपूर्ण कार्यहरू भएका छन् ।

युएसएआइडी तयार नेपालको सहयोगमा तीन तहका चार वटै क्षेत्रमा देखिने गरी भीमेश्वर नगरपालिकाले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरू सम्पादन गर्न सकेको नगर उपप्रमुख कमला बस्नेतले बताउनुभयो   ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल