हेटौँडा, असोज २२ गते : हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी र ललितपुरको बागमती जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि दश दिनपछि कान्तिलोकपथ सञ्चालनमा आएको हो ।
कान्तिलोकपथ भएर सवारीसाधन पूर्णरुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बाढीले बागमती पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो । बगाएको भागमा डाइभर्सन निर्माण मङ्गलवार बिहानबाट सवारीसाधन सञ्चालनमा आएको हो ।
द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका हुन् । बागमती नदीमा आएको भिषण बाढीले पुलको दक्षिण तर्फको एउटा स्पान र मकवानपुर तर्फको भाग बगाएको थियो । गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथअन्तर्गत बागमतीमाथिको बगुवा पुलको मकवानपुरतर्फको पहुँचमार्ग बगाउँदा सवारी आवागमनमा समस्या भएको थियो ।
यो सडक खण्ड खुलेपछि सिस्नेरी, फाखेल भिमफेदी सडकखण्ड र त्रिभुवन राजपथमा भएको सवारी चाप कम हुनेछ । पुल र सडक बगाउँदा मकवानपुर र ललितपुरबिचको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-हुमानेभन्ज्याङ-फर्पिङ-काठमाडौ र कुलेखानी-महालक्ष्मीखोला-चखेल-मातातीर्थ-काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए । कुलेखानी-मार्खु-चित्लाङ-चन्द्रागिरी-थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो ।