Alliancekhabar

सोमबार, आश्विन २१, २०८१

देउखुरी, असोज २१ गते : दाङको लमही नगरपालिका–८, निमुखुट्टीका टोपबहादुर रावत खसीबोका बिक्री नहुँदा व्यापारीको खोजीमा हुनुहुन्छ । व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्नुभएका रावतले यसपालिको दसैँमा बिक्री गर्न पालेका १६ वटा खसीबोकामध्ये अहिले सात वटा बिक्री गर्न बाँकी छ । बिक्री गरेका खसीबोका पनि स्थानीय व्यापारीलाई दिनुभयो । उत्पादन बढाउन सबै क्षेत्रबाट जोड गरे पनि बिक्री गर्ने समयमा दुःख पाउने गरेको गुनासो किसानको छ । घर्तीले भन्नुभयो, “उत्पादन बढाउन खुबै मेहनत गर्ने तर बिक्रीको समयमा न्यून दरमा स्थानीय व्यापारीलाई दिनुपर्ने अवस्था छ, यस वर्ष पनि अहिलेसम्म सबै खसीबोका बिक्री गर्न सकेको छैन ।”

लमही–७ की निर्मला घर्तीको पनि गुनासो उस्तै छ । निर्मलाले भन्नुभयो, “दसैँनजिकै आउँदा पनि खसीबोका खोरमै छन्, चाडपर्वमा खसीबोका बिक्री नहुँदा लगानी डुब्ने चिन्ताले सताउँछ ।” उहाँले पनि खसीबोका बिक्री गर्नका लागि स्थानीय बजार र व्यापारीलाई आग्रह गर्ने गरेको बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्ष किसानले उत्पादन गरेका खसीबोका धेरै सङ्ख्यामा खरिद गरे पनि यस वर्ष कोटा कम भएका भन्दै थोरै सङ्ख्यामा खसीबोका खरिद गरेपछि खसीबोका किसानले बिक्री गर्न नसकेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्दा रकम पाउनेमा किसान ढुक्क भए पनि स्थानीय व्यापारीलाई उधारो बिक्री गर्नु परेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तुलनामा स्थानीय बजारमा बिक्री गर्दा खसीको तौल हेरी ४० रुपियाँ प्रतिकेजी कम मूल्यमा बिक्री गर्न किसान बाध्य छन् ।

दाङ लमही नगरपालिकामा महिला उद्यमी सहकारी समूह गठन गरी महिलाले खसीबोका पाल्दै आएका छन् । लमही नगरपालिकाको सतबरिया क्षेत्रमा दिपन महिला उद्यमी सहकारी संस्था, कर्मठ उद्यमी महिला सहकारी संस्था, सोनपुर क्षेत्रमा नीलकमल सहकारी संस्थामा आबद्ध महिलाले व्यावसायिक रूपमा खसीबोका पाल्दै आइरहेका छन् । दिपन महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक हरिनारायण चौधरीले आफूहरूको सहकारीमा आबद्ध सदस्यले पालन गरेका झन्डै तीन सय खसीबोकामध्ये १५० मात्रै बिक्री भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पनि खसीबोकाको व्यापारीलाई अनुरोध गर्दै आइरहेका छौँ तर उत्पादनको तुलनामा बिक्री कम भइरहेको छ ।”

यसैबिच दाङको गढवा गाउँपालिकाबाट एक सय खसीबोका बिक्री भएको छ । दसैँलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका खरिद गरेको कम्पनीका प्रमुख तिलक सुनारले बताउनुभयो । किसानले उत्पादन बढाए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङलाई गत वर्षको तुलनामा घटाएर कोटा पठाएपछि खरिद गर्न गाह्रो परेको उहाँको भनाइ छ । सुनारले भन्नुभयो, “काठमाडौँमा खसीबोकाको कारोबार घटेकाले त्यसको असर खरिदमा परेको छ, जति कोटा निर्धारण गरेर पठाएको छ, सोही आधारमा खरिद गरेर पठाउँदै छौँ ।”

दाङलाई यस वर्ष जम्मा चार सय खसीबोकाको कोटा उपलब्ध छ जुन कोटा पूर्ण भइसकेको छ । गत वर्ष दाङ जिल्लाबाट सात सय खसीबोका काठमाडौँ पठाइएको थियो । दाङको गढवा गाउँपालिकाले भने गढवा गाउँपालिकामा कृषि उपजको सामग्री उत्पादन र बजारीकरणका लागि खसी,बोकाको सामूहिक बजारीकरण गर्न थालेको छ । किसानले उत्पादन गरेका खसीबोकाका लागि सामूहिक बजारीकरण सुरु गरिएको हो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले पूरा किसानलाई व्यावसायिक बाख्रापालनमा संलग्न गराएर मात्रै नहुने भन्दै उत्पादन बजारीकरणको जिम्मा स्थानीय सरकारले लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहल गरेर अहिले खसीबोकाको सहज बजारीकरण भइरहेको छ । यसबाट किसानलाई ढुक्क हुने अवस्था सिर्जना गरेको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल