Alliancekhabar

बुधबार, आषाढ ०५, २०८१

हेटौँडा, असार ५ गते : मकवानपुरको कुलेखानीमा नौ लाख माछाका भुरा छाडिएको छ । इन्द्रसरोवर रिजर्भवायरको जलीय जैविक विविधता संरक्षणका लागि नौ लाख २० हजार माछाका भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले आठ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले एक लाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका हुन् ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरका निमित्त प्रमुख मनिता पौडेलका अनुसार सिल्भर दुई लाख, बिगहेड कार्प दुई लाख, कमन कार्प एक लाख, नैनी रुबु दुई लाख र ग्रास कार्प एक लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवका अनुसार रुहु तथा नैनी प्रजातिका माछाका भुरा एक लाख २० हजार छाडिएको हो । नेपाली सेना, स्थानीय, कर्मचारी र सरोकारवालाको सहयोगमा माछाका भुरा जलाशयमा छाडिएको थियो ।

प्राकृतिक रूपमा तापक्रम नमिल्दा माछाका भुरा उत्पादन नहुने भएकाले प्रत्येक वर्ष कुलेखानी जलाशयमा माछाका भुरा छाड्ने गरिएको मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरका निमित्त प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार जलाशयमा छाडिएका माछा वयस्क नहुँदै मार्ने भएकाले पनि बच्चा जन्माउने र उत्पादनको प्रक्रिया हुनै नपाउने गरेको बताउनुभयो । “समय समयमा यहाँ माछा मार्ने गरिन्छ, माछा वयस्क र उत्पादनका लागि परिपक्क हुन पाउँदैन,” उहाँले भन्नुभयो । यता प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका वरिष्ठ मत्स्य विकास अधिकृत यादवका अनुसार नैनी तथा रहु प्रजातिका माछाले बग्ने पानीमा बच्चा जन्माउने भएकाले जलाशयमा त्यो सम्भव नभएको प्रतिक्रिया दिनुभयो ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले मत्स्य विकास केन्द्र भण्डाराबाट पाँच लाख र हिरा मत्स्य ह्याचरीबाट तीन लाख माछाका भुरा खरिद गरेको थियो । यसअघि प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहु तथा नैनी प्रजातिका एक लाख २५ हजार माछाका भुरा छोडेको थियो । केन्द्रले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछाका भुरा बागमती नदीमा छाडेको हो ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले अघिल्लो आर्थिक वर्षमा १० लाख माछाका भुरा छाडेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले चालु आवको जेठ मसान्तसम्म दुई हजार ६६ केजी माछा उत्पादन गरेर पाँच लाख १२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७९/८० मा दुई हजार ५१० केजी माछा उत्पादन गरेको कार्यालयले यस वर्ष उत्पादन बढ्ने विश्वास लिएको छ ।

यहाँ उत्पादन भएका माछा स्थानीयस्तरमै खपत हुने गरेको छ । सिल्भर बिग हेड प्रतिकेजी २५० रुपियाँ र केज (पिँजडा) मा पालेको माछा प्रतिकेजी २३० र कमन कार्प, रुहु, नैनी प्रतिकेजी तीन सयका दरले स्थानीयस्तरमै बिक्री हुने गरेको पौडेलको भनाइ छ । पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको माछा अत्यधिक मन पराएर खाने गरेको होटल व्यवसायी युनिक विष्टले जानकारी दिनुभयो ।

बागमती प्रदेशको मकवानपुरको उत्तरी पहाडी क्षेत्रमा रहेको इन्द्रसरोवर रिजर्भवायर विद्युत् उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम बनाई निर्माण गरिएको मानव निर्मित नेपालकै ठुला रिजर्भवायरमध्ये एक हो । यसमा पानी जम्मा पार्नलाई पालुङ खोला, चित्लाङ खोला, सेती खोला, चखेल इनलेट, चल्खु खोला, ठाडो खोला र धस्कु खोला गरी सात वटा स्रोत रहेका छन् । समुद्र सतहदेखि १५०० मिटर उचाइमा यो रिजर्भवायर रहेको छ । पूर्ण रूपमा रिजर्भवायरमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ भने रिजर्भवायरको औसत लम्बाइ सात किमी र चौडाइ पाँच सय मिटर रहेको छ ।

विद्युत् उत्पादनका अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजना कालमा विस्थापित भएका सरोकारवाला कृषकलाई स्थानीयस्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटिनको उपलब्धतालाई बढाउने उद्देश्यले केजमा माछापालन पनि गरिएको छ । तालमा पाइने प्राकृतिक प्लाङ्कटन आहारा खाएर हुर्कने सिल्भर कार्प र बिगहेड कार्प जातका माछाको केजमा पालन गरिएको हो । विसं २०४५ देखि निजी स्तरमा कृषकलाई प्रविधि सिकाई केजमा माछापालन कार्यको थालनी गरिएको थियो । विसं २०६६ मा ६८५ जना सेयर सदस्यसहित इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घको स्थापना गरी रिजर्भवायरमा केजमा तथा खुला तालमा विभिन्न जातका  माछाका  भुरा छोडी माछापालन कार्य सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल