alliance khabar

बिहिबार, कार्तिक १२, २०८३

काठमाडौँ, कात्तिक १२ गते ।

बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतका विभिन्न क्षेत्रमा अत्यधिक वर्षासँगै आँधीबेहरी सिर्जना गरिरहेको छ । यही समयमा बङ्गालको खाडीको पूर्वतर्फ फेरि अर्को बलियो न्यूनचापीय क्षेत्र बनेको छ ।

नेपालमा अर्णवको असर बुधबार बिहानदेखि पर्न सुरु भएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । चक्रवातको सोझो असर उच्च हिमाली भेगमा बढी देखिएको छ । सँगै बनेको अर्को प्रणालीले वर्षा र हिमपात दोहोरिने सम्भावना बढाएको नेपाल र भारतको मौसम विज्ञान विभागले जनाएका छन । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार नेपालमा बदलीसँगै लुम्बिनी प्रदेशका एकाध स्थानमा हल्का वर्षा पनि भएको छ ।  उहाँले भन्नुभयो, “कात्तिक १३ र १४ गतेसम्म नेपालमा चक्रवातको असर तीव्र हुने छ, उच्च हिमाली भेगमा हिमआँधीसहितको उच्च हिमपात हुने भएकाले प्रतिकार्यमा उत्रिनुपर्ने हुन सक्छ ।” चक्रवातका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा सय प्रतिशतसम्मको अत्यधिक उच्च हिमपात हुने भएकाले त्यहाँका मानवबस्ती र पर्यटनका कार्य आगामी तीन दिनका लागि सम्पूर्ण रूपमा बन्द गर्न विभागले अपिल गरेको छ । उक्त भेगमा रेड अलर्ट जारी गरिएको छ । पहाडी तथा तराईका भेगमा पनि मध्यमदेखि भारीसम्मको वर्षा हुने मौसमविद् निष्ठा निरौलाले बताउनुभयो । उहाँले थप्नुभयो, “भारतको विहारनजिक रहेका स्थानमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ ।”

सम्भाव्यताको अध्ययन सुरु

जलविज्ञान अनुसन्धान केन्द्रका अनुसार हिमाली भेगमा अर्णवको प्रभाव थेग्न उच्च सतर्कता अपनाइएको छ । तीन हजार मिटरमाथि रहेका करिब २३ वटा स्वचालित हिममापन केन्द्रको अद्यावधिक अवस्थाको जानकारी लिइएको केन्द्रका प्रमुख डा. राजन भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा र बाढीभन्दा हिमआँधी कडा हुने देखिएकाले हिमाली क्षेत्रको अनुगमनमा केन्द्रित भएका छौँ, वर्षा जस्तै हिउँ कति पर्छ भन्न तत्काल नसकिने भएकाले केही समस्या छ ।” उहाँका अनुसार नेपाल आइपुग्ने चक्रवातको गति विहारआसपास आएपछि त्यसको असर भारतभन्दा थोरै कम हुन्छ । त्यो छरिएर अघि बढ्छ वा कुनै क्षेत्र केन्द्रित भएर जान्छ भन्ने कुराले हिमपात र ठुलो वर्षाको दर भन्न सकिने उहाँले बताउनुभयो । बिहीबार रातिदेखि दुवैको प्रभाव देखिने अनुमान उहाँले गर्नुभयो । उच्च हिमपातसँगै चक्रवातले पहाडी जिल्लामा पहिरो जाने लक्षण देखाएको छ । उहाँले थप्नुभयो, “सम्भावित असर पर्ने केही पहाडी भेगमा एक सय मिलिमिटरमाथिको वर्षाले पनि पहिरो जान सक्ने देखिएको छ, त्यसैले त्यसको पूर्वानुमान गरेर सतर्कता सूचना जारी गर्दै छौँ ।” खहरे तथा स्थानीय खोलामा आकस्मिक बाढीको अनुगमन पनि सुरु भएको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो ।

दसैँअघिको शक्तिशाली न्यूनचापीय प्रणाली नेपाल आउँदा सगरमाथालगायतका उच्च हिमाली क्षेत्रमा आठ फिट बढी हिउँ परेको थियो । अहिले शक्तिशाली चक्रवात नै बनेको अवस्थामा त्योभन्दा ठुलो हिमपात हुने अवस्था रहेको केन्द्रले जनाएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार नेपाल आउने चक्रवात आँधीको गति १५० देखि १७० किलोमिटर प्रतिघण्टाको हुने अनुमान छ । फरक मोडेलले हिमपातसँगै वर्षाको आँकडा पनि ठुलो देखाएको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मौसम विभागका मौसमविद् विनोद पोखरेलले बताउनुभयो ।

प्राधिकरणको निर्देशन

अर्णव चक्रवातको प्रभाव कात्तिक १२ देखि १४ गतेसम्म देशका सबै जसो प्रदेशमा पर्ने भएकाले सतर्क रहन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ ।

चट्याङ र हावाहुरीसहित भारी वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले धानबाली काट्ने, भित्र्याउने काम नसके अप्ठेरो पर्ने जनाइएको छ । पर्यटकलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित स्थानमा रहन भनिएको छ । आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने, सवारी आवागमन बन्द गर्नुपूर्व सोको अग्रिम जानकारी सर्वसाधारणसम्म पुर्‍याउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिइएको छ । सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुने भएकाले अत्यावश्यक नपरी यात्रा नगर्न नगराउन प्राधिकरणले भनेको छ । निषेधित क्षेत्रमा विभागले पदयात्रा अनुमति दिने कार्य स्थगित गरेको छ । ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायतलाई निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ