काठमाडौँ, असोज २२ गते ।
चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । बीबीसी न्यसुजका अनुसार नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना बुबाको निधन भएको पुष्टि गर्नुभएको छ ।
यसैगरी, समाचार संस्था पीटीआईका अनुसार पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । पणजीनजिक डोना पाउलास्थित आफ्नो अपार्टमेन्टमा बेहोस अवस्थामा भेटिएपछि उहाँलाई निजी अस्पताल लगिएको थियो ।
अस्पतालका वरिष्ठ चिकित्सक डा. शेखर सालकरका अनुसार पाटेकरलाई लगातार ४५ मिनेटसम्म सीपीआर दिइए पनि बचाउन सकिएन ।
पाटेकरको निधनप्रति वरिष्ठ पत्रकार राजदीप सरदेसाईले श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमा उहाँ उत्कृष्ट अभिनेता मात्र नभई असल मित्रसमेत रहेको उल्लेख गर्नुभएको छ । सरदेसाईका अनुसार निधन हुनुभन्दा एक दिनअघि मात्र उहाँसँग कुराकानी भएको थियो । त्यस क्रममा पाटेकरले ‘कालजी घे राजा’ अर्थात् ‘आफ्नो ख्याल राख्नु, राजा’ भन्नुभएको थियो ।
सरदेसाईले पाटेकरलाई पर्दामा र पर्दाबाहिर आफूले निकै सम्झिरहने उल्लेख गर्दै उहाँले जीवनका सुख–दुःखका हरेक क्षणमा आफूलाई साथ दिएको बताउनुभएको छ ।
केन्द्रीय मन्त्री नितिन गडकरीले पनि पाटेकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पाटेकरको निधन भारतीय चलचित्र क्षेत्रका लागि ठुलो क्षति भएको बताउनुभएको छ ।
गडकरीले नाना पाटेकरसँग आफ्नो निकट र मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दमदार अभिनयमार्फत पाँच दशकभन्दा बढी समयसम्म मराठी र हिन्दी चलचित्रका दर्शकको मन जितेको बताउनुभएको छ । उहाँका विशिष्ट संवाद प्रस्तुत गर्ने शैलीले चलचित्रका धेरै पात्रलाई अविस्मरणीय बनाएको गडकरीको भनाइ छ ।
पाटेकर अभिनयसँगै सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्थ्यो । ‘नाम फाउन्डेसन’मार्फत महाराष्ट्रका ग्रामीण क्षेत्रमा जल संरक्षण तथा जलग्रहण क्षेत्र व्यवस्थापनका क्षेत्रमा उहाँले उल्लेखनीय काम गर्नुभएको थियो । आत्महत्या गरेका किसानका परिवारलाई सहयोग गर्दै आउनुभएका पाटेकरले धेरै परिवारलाई राहत र सहारा प्रदान गर्नुभएको थियो ।
नाना पाटेकर पछिल्लो समय चलचित्रसँगै ओटीटीमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ पछिल्लो पटक विशाल भारद्वाज निर्देशित रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’मा देखिनुभएको थियो । सन् २०२६ को फेब्रुअरीमा प्रदर्शन भएको उक्त चलचित्रमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा हुनुहुन्थ्यो । पाटेकरले चलचित्रमा मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले अनिल कपुर अभिनीत ‘सुबेदार’मा पनि अभिनय गर्नुभएको थियो । उक्त चलचित्रको प्रिमियर सन् २०२६ को मार्चमा प्राइम भिडियोमा भएको थियो । यसअघि उहाँ ‘हाउसफुल–५’ ९२०२५० र ‘वनवास’ ९२०२४० मा देखिनुभएको थियो ।
सन् २०२६ मै पाटेकरले प्रकाश झाको राजनीतिक ड्रामा शृङ्खला ‘संकल्प’मार्फत ओटीटीमा पनि डेब्यु गर्नुभएको थियो । उक्त शृङ्खलामा उहाँले माट साहेब अर्थात् कन्हैया लालको केन्द्रीय भूमिका निर्वाह गर्नुभएको थियो ।


