वीरगञ्ज (पर्सा), असोज १४ गते ।
वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/२०८४ को बजेट संशोधन गरी २१ करोड रुपियाँ घटाएको छ ।
बुधबार वीरगञ्ज महानगरपालिकाको २१ औं विशेष नगरसभाले यसअघि असार १० गते सम्पन्न २० औं नगरसभाले ल्याएको बजेटमा संशोधन गरी त्यसमा २१ करोड रुपियाँ घटाएर नयाँ बजेट ल्याएको हो ।
महानगरका नगर प्रमुख राजेशमान सिंह निलम्बनमा रहेका बेला असार १० गते तत्कालीन कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले चालू आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।
विशेष अदालतले सफाई दिएपछि असोज ३ गतेदेखि पुनः नगर प्रमुखको पद सम्हाल्नुभएका सिंहले बुधबार (आज) २१औं विशेष नगरसभामार्फत असार १० गतेको बजेटमा संशोधन गरी चार अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपियाँको बजेट ल्याउनुभएको हो ।
विनियोजन बजेटमा चालु खर्चतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपियाँ अर्थात् ५६ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपियाँ अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपियाँ अर्थात् १ प्रतिशत रहेको छ ।
संशोधित बजेटमा खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, संघीय राजस्व बाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार रुपियाँ, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपियाँ, प्रदेश राजस्व बाडँफाडबाट १ करोड ६७ लाख १४ हजार रुपियाँ, घर जग्गा रजिष्ट्रेशन शुल्क वापत ४५ करोड रुपियाँ र नगर विकास कोषबाट १५ करोड रुपियाँ उल्लेख गरिएको छ ।
महानगरको आन्तरिक राजस्व परिचालनमा आएको संकुचन तथा वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्रक्षेपण अनुसार स्रोत प्राप्ति हुन नसकेको र अनिवार्य चालु खर्चमा बृद्धि भएका कारणले बजेट संशोधन गर्न बाध्य हुनु परेको नगरप्रमुख सिंहले बताउनुभयो ।
बुधबारको विशेष नगरसभामा उप–प्रमुख इम्तियाज आलम अनुपस्थित हुनुहुन्थ्यो । यसअघि मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले आफ्नो दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूलाई नगरसभामा सहभागी नहुन ह्वीप नै जारी गरेको थियो ।
नगरप्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार बुधबारको विशेष नगरसभामा हाल कायम एक ५६ नगरसभा सदस्यमध्ये एक सय १८ जना सहभागी हुनुहुन्थ्यो ।