काठमाडौँ, असोज १ गते ।
नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीको जीवन बिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा हुने भएको छ । दुवै संस्थाबिच बुधबार त्यससम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल र नेपाल बैङ्क लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीको जीवन सुरक्षालक्षित जीवन बिमा सुविधा उपलब्ध गराइने जनाइएको छ । कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैङ्कका कर्मचारीलाई बिमामार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको नेसनल लाइफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता समारोहमा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीको उपस्थिति थियो । सहभागी पदाधिकारीले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बिमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।