बुटवल, भदौ ३० गते ।
बुटवल उपमहानगरपालिकाले तिनाउ नदी आसपासका बस्तीको जोखिम पहिचान गरी विपत् पूर्वतयारीको योजना अघि बढाउने भएको छ ।
बर्खायाममा तिनाउ नदीमा पानीको बहाब बढ्दा बुटवलका नदी किनारका बस्तीमा बाढी तथा डुबानको जोखिम रहने भएकाले सम्भावित जोखिमको अवस्था पहिचान गरी आवश्यक सुरक्षा योजना बनाउने तयारी उपमहानगरपालिकाले गरेको हो ।
उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने तयारी गरेको छ । त्यसका लागि प्राविधिकसहितको टोली परिचालन गरी नदीको बहाब, नदीको किनारको अवस्था, बस्तीको दुरी, भौगोलिक बनोट र विगतमा बाढी तथा डुबानको प्रभाव परेका स्थानको स्थलगत अध्ययन गरिने जनाइएको छ ।
अध्ययनबाट तिनाउ किनारका कुन बस्ती तत्काल जोखिममा छन् भन्ने पहिचान गर्नुका साथै जोखिमको स्तरसमेत निर्धारण गरिने योजना रहेको छ । जोखिमका आधारमा तत्काल सुरक्षा तथा पूर्वतयारी आवश्यक पर्ने बस्ती, थप अध्ययन तथा संरक्षण आवश्यक पर्ने क्षेत्र र दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने स्थान छुट्याइने उपमहानगरपालिकाको तयारी छ ।
तिनाउ नदीमा बाढी आउँदा नदी किनारका बस्तीमा पानी पस्ने, कटान हुने तथा भौतिक संरचनामा क्षति पुग्ने जोखिम रहँदै आएको छ । नदीको प्राकृतिक बहाबमा हुने परिवर्तन, नदी किनारमा बढ्दै गएको बस्ती विस्तार र कमजोर भूभागका कारण जोखिम थप जटिल बन्न सक्ने भएकाले स्थानीय तहले जोखिमको अवस्थालाई व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने आवश्यकता देखिएको छ ।
उपमहानगरपालिकाले जोखिम पहिचानपछि त्यसका आधारमा विपत् व्यवस्थापनका कार्यक्रम तय गर्ने जनाएको छ । जोखिममा रहेका बस्ती तथा घरधुरीको विवरण तयार गर्ने, आवश्यक स्थानमा पूर्वसूचना तथा उद्धारको व्यवस्था गर्ने, सुरक्षित स्थान पहिचान गर्ने र सम्भावित जोखिमका आधारमा सुरक्षा संरचना तथा अन्य पूर्वाधारको योजना बनाउने तयारी छ ।
उपमहानगर प्रमुख खेलराज पाण्डेले विपत् व्यवस्थापनका घटना भएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुँदा मानवीय तथा भौतिक क्षति बढ्न सक्ने भएकाले जोखिम पहिचानलाई पूर्वतयारीको आधार बनाउन खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिमयुक्त बस्तीको पहिचान भएपछि स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउने र विपत्का समयमा अपनाउनुपर्ने सावधानी तथा उद्धारसम्बन्धी तयारीमा समेत जोड दिइने छ ।”
हरेक बर्खा तिनाउ नदीका आसपासका क्षेत्रमा बाढी पस्दा जोखिम हुने गरेको छ । नदीको बहाब र बस्तीको अवस्थालाई नियमित रूपमा निगरानीमा राखी जोखिम बढ्न सक्ने स्थानको समयमै पहिचान गर्न सके सम्भावित क्षति घटाउन सकिने उपमहानगरपालिकाको बुझाइ छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीका अनुसार जोखिम पहिचानको कामलाई एक पटकको अध्ययनमा सीमित नगरी आवश्यकता अनुसार अद्यावधिक गर्दै लैजाने योजना छ । उहाँले यसबाट तिनाउ किनारका बस्तीको जोखिमको तथ्यगत विवरण तयार हुने र सोही आधारमा विपत् पूर्वतयारी तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न सहज हुने बताउनुभयो ।