नेपालगन्ज, भदौ ३० गते ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।
सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिँदै कामलाई तीव्र गतिमा अघि बढाइएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो।
उहाँका अनुसार पछिल्लो समय सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। बजेट र आवश्यक जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र आयोजनाका बाँकी पूर्वाधार निर्माण सम्पन्न गर्न सकिने उहाँको भनाइ छ।
“पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले काम अघि बढिरहेको छ,” उहाँले भन्नुभयो। आचार्यका अनुसार आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माणतर्फ करिब २४ अर्ब रुपियाँ खर्च भइसकेको छ।
आयोजना लामो समयदेखि विभिन्न कारणले अपेक्षित गतिमा अघि बढ्न नसके पनि पछिल्लो समय निर्माणलाई तीव्रता दिइएको जनाइएको छ। अहिले बाँकी संरचना निर्माणका लागि नयाँ बोलपत्र आह्वान गर्ने, शाखा तथा प्रशाखा नहर निर्माण अघि बढाउने र रोकिएका काम पुनः सञ्चालन गर्ने प्रक्रिया तीव्र पारिएको आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले बताउनुभयो।
उहाँका अनुसार निर्माणका लागि थप ३० वटा बोलपत्र आह्वान गरिएको छ। यसबाट बाँकी संरचना निर्माणले गति लिने अपेक्षा गरिएको छ।
सूचना अधिकारी साहले आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको बताउनुभयो। पश्चिम मूल नहरका सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा पुगेका छन् भने डुडुवा शाखा नहरको निर्माण जारी छ।
उहाँका अनुसार करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर लामो समयदेखि अलपत्र अवस्थामा थियो। ठेकेदार कम्पनीसँगको विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको निर्माण कार्य गत वर्ष विवाद समाधान भएपछि नयाँ ठेकेदारमार्फत पुनः अघि बढाइएको हो।
सिक्टा सिँचाइ आयोजनाको निर्माण अवधि र लागत पटक–पटक संशोधन हुँदै आएको छ। विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाले १२ अर्ब ८० करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो।
निर्माणका क्रममा थप नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी पूर्वी मूल नहरलगायत अन्य संरचना थपिएपछि लागत र समय दुवै बढ्यो। आर्थिक वर्ष २०७१/७२ मा स्वीकृत संशोधित गुरुयोजनाले २५ अर्ब दुई करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो।
तर उक्त समयसीमामा पनि आयोजना पूर्ण हुन सकेन। त्यसपछि विसं २०७९ मा स्वीकृत गुरुयोजनाले आयोजनाको सम्पूर्ण काम ५२ अर्ब ८९ करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ।
अब भने सरकारले बाँकी निर्माण कार्य आगामी पाँच वर्षभित्र पूरा गर्ने गरी कामलाई गति दिन निर्देशन दिएको छ।
आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ। आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ।
यसअन्तर्गत पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने योजना छ। हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार लक्ष्यअनुसारको सम्पूर्ण क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन अझै शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा गर्नुपर्नेछ। यही कामलाई आगामी पाँच वर्षको प्रमुख प्राथमिकतामा राखिएको छ।