दाङ, वैशाख ८ गते ।
तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा जारी उत्खननका क्रममा फेला परेका पुरातात्त्विक सामग्री सार्वजनिक गरिएको छ। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननबाट प्राप्त सामग्री सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएका सामग्रीमा लिच्छविकालीन इट्टादेखि थारू समुदायले पूजापाठमा प्रयोग गर्ने माटोका घोडाका आकृति, महिलाले लगाउने चुरा, धनुषका तीर, फलाम तथा तामाका औंठी, माटाका दियो, घैटो, गोल्द्रा, भोक्टी लगायतका सामग्री रहेका छन्। पुरातत्त्वविद् उद्धव आचार्यका अनुसार उत्खननका क्रममा करिब छैटौँ शताब्दीका मानिने लिच्छविकालीन इट्टा फेला परेका छन्।
दरबारको दक्षिण–पूर्वी भागमा गरिएको उत्खननमा भेटिएका इट्टाको बनावटका आधारमा ती छैटौँ शताब्दीका हुन सक्ने आचार्यले बताउनुभयो। यद्यपि यसको वैज्ञानिक प्रमाणीकरण हुन अझै समय लाग्ने उहाँको भनाइ छ।
उहाँका अनुसार दरबार क्षेत्रको उत्तरतर्फ गरिएको उत्खननमा ११औँ÷१२औँ शताब्दीका इट्टा पनि फेला परेका छन्। यसले दरबार क्षेत्र विभिन्न कालखण्डमा निर्माण तथा पुनर्निर्माण भएको संकेत गर्ने आचार्यले बताउनुभयो। उत्खननका क्रममा करिब ८५ सेन्टिमिटर चौडाइको बाहिरी पर्खाल (इट्टाको गारो) तथा ३० सेन्टिमिटर चौडाइका अन्य संरचना समेत फेला परेका छन्।
“अहिलेसम्म उत्खननका क्रममा १० वटा कोठाको संरचना पहिचान गरेका छौँ,” आचार्यले भन्नुभयो, “थप उत्खनन जारी रहेकाले अझ बढी संरचना भेटिन सक्छन्।”
उत्खननका क्रममा तीन प्रकारका इट्टा फेला परेका छन्। तीमध्ये एउटा १८ सेन्टिमिटर चौडाइ, २८ सेन्टिमिटर लम्बाइ र ५ सेन्टिमिटर उचाइको, दोस्रो १९ सेन्टिमिटर चौडाइ, २९ सेन्टिमिटर लम्बाइ र ५ सेन्टिमिटर उचाइको तथा तेस्रो २२ सेन्टिमिटर चौडाइ, ३४ सेन्टिमिटर लम्बाइ र ५ सेन्टिमिटर उचाइको रहेको आचार्यले जानकारी दिनुभयो।
आचार्यको नेतृत्वमा नवराज अधिकारी, रामचन्द्र श्रेष्ठ र जगतबहादुर कटुवालसहितको टोलीले करिब एक महिनादेखि उत्खनन कार्य गरिरहेको छ। पूर्ण उत्खननका लागि अझ कम्तीमा दुई महिना लाग्ने अनुमान गरिएको छ। उत्खननबाट फेला परेका संरचनाको संरक्षणका लागि चुना, सुर्की र बालुवा प्रयोग गरी पर्खाल संरक्षणको कामसमेत भइरहेको छ।
दंगीशरण दरबारमा यसअघि २०६३ र २०७१ सालमा उत्खनन भइसकेको थियो भने अहिले तेस्रो चरणको उत्खनन भइरहेको हो।
यसैबीच, थारू अगुवा तथा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले उत्खननबाट प्राप्त सामग्रीको संरक्षण गर्दै यस क्षेत्रलाई लुम्बिनी विकास कोषजस्तै संरचनामा विकास गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार दंगीशरण दरबार जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ।
“दंगीशरण सभ्यता मानव सभ्यताको महत्वपूर्ण धरोहरका रूपमा रहेको प्राचीन तथा प्रागऐतिहासिक क्षेत्र हो,” उहाँले भन्नुभयो, “मानव विकासको इतिहास अध्ययनका लागि यो क्षेत्र महत्वपूर्ण अनुसन्धान स्थल बन्न सक्छ।”
उहाँले पुरातत्व विभागद्वारा सञ्चालन गरिएको उत्खनन कार्यप्रति आभार व्यक्त गर्दै स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक मानव तथा आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।