alliance khabar

शनिबार, माघ ०३, २०८२

बाजुरा, माघ ३ गते ।

 बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा बल्ल बेलिब्रिज पुल निर्माण हुन थालेको हो । लामो समय पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ चल्ने सवारी साधनलाई आउजाउमा समस्या हुँदै आएको थियो ।

हाल दानसाँगु खोलामा पुल निर्माणको काम तीव्र रूपमा भइरहेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा खुसी छाएको छ । पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अब हट्ने आशा स्थानीयले व्यक्त गरेका छन् ।

हिउँदको समयमा पनि दानसाँगु खोलामा पुल नहुँदा मार्तडीबाट कोल्टी जाने सवारी साधन रोकिँदै आएको सवारी चालक रामबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार मार्तडी–कोल्टी सडकमा सबैभन्दा बढी समस्या बाउली र दानसाँगु खोलामा देखिँदै आएको छ । बाउली खोलामा पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।

बाउली र दानसाँगु खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न भए वर्षायाममा पनि मार्तडी–कोल्टी सडक नियमित रूपमा सञ्चालन गर्न सकिने कार्कीको भनाइ छ ।

यसअघि जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने प्रयास भए पनि विवादका कारण सम्भव हुन सकेको थिएन । विवाद समाधान भएपछि उक्त बेलिब्रिज दानसाँगु खोलामा ल्याएर निर्माण कार्य अघि बढाइएको बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगु खोलामा राख्न डिडिएरजनकल्याण जेभीसँग २ करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको हो । मंसिरको पहिलो सातामा पुलको औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

सम्झौताअनुसार तीन महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल काम तीव्र गतिमा भइरहेको र अबको एक महिनाभित्र बेलिब्रिज निर्माण सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याइने उपप्रमुख बोहराले बताउनुभयो ।

दानसाँगु खोलामा स्थायी पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । त्यतिन्जेल वर्षायाममा सवारी आवागमन सहज बनाउन बडिमालिका नगरपालिकाको जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गरिएको हो । ठेकेदार कम्पनीले दुई महिनाअघि काम सुरु गरेको र आगामी एक महिनाभित्र निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल