हेटौँडा, पुस १० गते ।
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन संघर्ष उस्तै छ ।
भ्लोन र उहाँका श्रीमान् मिलेर दैनिक ज्यालादारी गर्दै परिवार पाल्दै आउनुभएको थियो । “एलानी दस कठ्ठा जग्गा थियो, त्यही खेतीपाती गरेर परिवारको गुजारा राम्रो चलिरहेको थियो,” विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले सबै बगायो, अहिले ज्याला मजदुरी गरेरै परिवार पाल्दै आएको छु ।”
उहाँको दैनिकी बिहान सात बजे राप्ती नदीको बगरबाट सुरु हुन्छ । दिनभर बालुवा चालेर एक टिप पु¥याउन चारदेखि पाँच दिन लाग्ने उहाँ बताउनुहुन्छ । “एक टिप बालुवाबाट १५ सय रुपियाँ आउँछ, त्यसैको आम्दानीले जसोतसो अन्नको जोहो हुन्छ,” भावुक स्वरमा उहाँले भन्नुभयो ।
श्रीमान् सुगर रोगबाट पीडित भएकाले घरखर्चको मुख्य भार उहाँकै काँधमा छ । “ज्यान चलेसम्म कमाएर खानुप¥यो,” भ्लोनले भन्नुभयो, “हामीजस्ता मजदुरलाई जीवन बाँच्न गाह्रो छ ।” बालुवा चाल्नुका साथै भ्लोन धान रोप्ने, काट्ने लगायतका कृषि काममा पनि ज्यालादारी गर्न जाने गर्नुहुन्छ । स्थायी रोजगारी र आयको स्रोत नहुँदा उहाँको परिवार आज पनि दैनिक मजदुरीमै निर्भर छ ।
त्यस्तै हेटौँडा–११, सिमलटारकी ४८ वर्षीय सिर्जना घलान पनि मजदुरी गरेरै परिवार पाल्दै आउनुभएको छ । श्रीमान् रोगी भएकाले दैनिक औषधी खुवाउनुपर्ने बाध्यताका कारण घरको काम भ्याएर फुर्सद हुने बित्तिकै उहाँ बगरमा पुग्नुहुन्छ । “बालुवा कोट्याउने, थुपार्ने र चालेर आएको मजदुरीबाट परिवार चलाइरहेकी छु,” उहाँले भन्नुभयो ।
बगरमा बालुवा चालेर जीविकोपार्जन गर्न सजिलो नभएको मजदुरहरूको गुनासो छ । कहिले प्रहरी, कहिले साहु–ठेकेदारको डर सहनु परेको उहाँहरू बताउनुहुन्छ । “साँझ–बिहान नभनी काम गर्नुपर्छ । कहिले प्रहरी आएर थर्काउँछ, कहिले साहु कराउन आइपुग्छ,” घलानले गुनासो गर्नुभयो ।
मजदुरहरू बिरामी पर्दा सरसापट गरेर समस्या टार्ने गरेका छन् । वर्षायाम बाहेक अन्य समयमा खोलामा बालुवा चाल्ने श्रमिकहरू आवश्यक परे अन्य मजदुरीमा पनि लाग्ने गर्छन् । उनीहरू जस्तै यहाँका सयौँ श्रमिक दैनिक ज्यालादारीमै निर्भर रहँदै जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो सयम क्रसरहरु खुल्दै जादा मजदुरहरुको रोजगारी समेत गुम्दै गएको छ । ठुला मेसिन र ट्रिपरको प्रयोगले बालुवा चाल्ने, गिट्टी कुट्ने, ढुङ्गा छुट्याउने मजदुरको रोजगारी गुमेकोमा श्रमिकहरु गुनासो गर्नुहुन्छ ।
उहाँको जस्तै पीडा हेटौँडा उपमहानगरपालिका–१३, वनस्पति निवासी ५७ वर्षीय मेन्दोमाया ब्लोनको पनि छ । उहाँ तीन दिन लगाएर एक टिप बालुवा जम्मा गर्नुहुन्छ । एक दशकदेखि खोला किनारमा बालुवा चालेर जीविका चलाउँदै आउनुभएका ब्लोनले यही आम्दानीबाट परिवारको खर्च टार्दै आउनुभएको छ ।
“ज्यामी काममा जान इट्टा, सिमेन्ट बोक्न सक्दिनँ,” ब्लोनले भन्नुभयो, “उमेर ढल्किँदै जाँदा अब यही खोलामा बालुवा चालेर जीविकोपार्जन गर्नुको विकल्प छैन ।” खेतीपाती र स्थायी रोजगारी नहुँदा उहाँहरू मजदुरीमै निर्भर हुन बाध्य हुनु परेको बताउनुहुन्छ । “खेती छैन, जागिर गर्ने कोही छैन । दैनिक ज्यालादारी गरेरै रासनपानी चलेको छ,” मजदुरहरू बताउँछन् ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११, सिमलटारका तिलकबहादुर वलको दैनिकी खोला किनारमै बित्ने गरेको छ । विगत १३ वर्षदेखि राप्ती नदी किनाराको बालुवानै उहाँको जीविकाको आधार बनेको छ । बिहान उज्यालो भएदेखि साँझ अँध्यारो नहुँदासम्म उहाँ बगरमै बालुवा चालिरहनुहुन्छ ।
पुसको चिसोमा पनि एकसरो कपडाको भरमा बालुवा चाल्ने जाली र एउटा सावेल बोकेर राप्ती नदी किनारामा पुग्नु उहाँको दैनिकी हो । “दिनभर चालेको बालुवाबाट आएको पैसाले साँझ–बिहानको छाक टारिन्छ,” वलले भन्नुभयो । ४८ वर्षीय वलले बालुवा चालेर भएको आम्दानीबाट सात जनाको परिवार पाल्दै आउनुभएको छ । उहाँको काममा कहिलेकाहीँ छोराले सहयोग गर्ने गरेका छन् । “एउटा छोरा बिरामी छ, अर्को छोराले ट्याक्टर चलाउँछ । मजदुरी गरेरै परिवारको लालनपालन गरिरहेको छु,” उहाँले बताउनुभयो । दिनभरको मजदुरीबाट उहाँले करिब सात सय रुपैयाँ आम्दानी गर्ने गर्नुहुन्छ ।
“बाध्यताले यही खोलामा आउनुपर्छ । बगरमा बालुवा चाल्ने रहर कसैलाई हुँदैन,” वलले भन्नुभयो, “शरीरमा शक्ति हुँदासम्म यही ढुङ्गा पल्टाउने, बालुवा चाल्ने हो । मजदुरको पीडा कसले सुनिदिन्छ र ?” प्रायः गरेर हेटौँडामा रहेको सुकुम्वासी बस्तीका मानिसहरु दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रको श्रममा जोडिनुभएको छ । न्यून आय, शिक्षाको कमि र आर्थिक अवस्था कमजोर रहेका यहाँका समुदाय गिट्टी कुट्ने, बालुवा चाल्ने, ट्याक्टर, ट्रिपर चलाउने पेशामा आवद्ध हुनुभएको हो ।
श्रम शक्ति सर्वेक्षण–२०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० लाख जना महिला छन् । औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार जना मात्रै कार्यरत छन् । ठुलो हिस्सा ४४ लाख ११ हजार जना (६२.२ प्रतिशत) अनौपचारिक क्षेत्रमा कार्यरत छन् । जसमध्ये कृषि क्षेत्रमा १४ लाख ३४ हजारले रोजगारी पाएका छन् भने गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् ।
घरेलु श्रममा भने ७३ हजार जना कार्यरत छन् । पाँच जनामध्ये एक जना कृषि क्षेत्रमा रोजगारी गर्छन् । सबैभन्दा बढी रोजगार दिने क्षेत्र कृषि हो । दोस्रोमा व्यापार क्षेत्र (१७.५ प्रतिशत) पर्छ । त्यसपछि निर्माण क्षेत्र (१३.८ प्रतिशत) छ । सेवा र बिक्रेताको पेसामा २३.८ प्रतिशत श्रमिक आबद्ध हुनुहुन्छ । उहाँहरू सातामा ४४ घण्टादेखि ५५ घण्टासम्म काम गर्नुहुन्छ । उहाँहरूले सरदर १७ हजार आठ सय नौ रुपियाँ आम्दानी गर्ने श्रम सर्वेक्षणले देखाएको छ ।
अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरुका समस्या औपचारिक क्षेत्रमा भन्दा भिन्नै प्रकृतिका छन् । अधिकार, ज्याला–तलब, सामाजिक सुरक्षा र अन्य सुविधा सबै कोणबाट उहाँहरु बढी पीडित हुनुहुन्छ । नेपालको जनसङ्ख्याको झण्डै आधा भाग मानिसहरु श्रम गर्न सक्ने मजदुर मानिएको छ । जसमा अधिकांश मजदुर असंगठित क्षेत्रमा काम गर्नुहुन्छ । जसमध्ये ठुलो सङ्ख्यामा कृषि, निर्माण तथा यातायात क्षेत्रमा काम गर्नुहुन्छ । आफ्नो श्रमको ज्याला कति हुन्छ, कति पाउनु पर्ने हो, मजदुरको अधिकार के हो भन्ने पनि थाहा पाएका हुँदैनन् । उहाँहरु आर्थिक रुपमा कमजोर हुनुहुन्छ । उहाँहरुले सधैं काम नपाइएला, बेरोजगार होइएला, परिवारका लागि एक छाक टार्न र एक जोर लुगा जोड्न नसकिएला भन्ने चिन्ता बोकिरहेका हुन्छन् ।

