तनहुँ, कात्तिक १९ गते ।
तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको झैझगडामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।
झगडाका क्रममा खिमबहादुरले चिरपट प्रहार गर्दा खुसीमानको टाउकोमा चोट लागि गम्भीर घाइते हुनु भएको थियो । घाइतेलाई उपचारका लागि तत्काल बन्दीपुर अस्पताल पुर्याइएकाे थियो। टाउको र दाहिने खुट्टामा चोट लागेको खुसीमानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राति करिब ८ः५५ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको थियो ।
तर मणिपालमा सिटी स्क्यान मेसिन बिग्रिएको कारण उहाँलाई फिस्टेल अस्पताल, पोखरा लगिएको र त्यहीँ उपचारको क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ । यस घटनामा संलग्न खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
