स्नातकोत्तरपश्चात् पनि विवाहबन्धनमा नबाँधी बस्ने पुरुषलाई ब्रह्मचारी र स्त्रीलाई ब्रह्मचारिणी वा ब्रह्वादिनी भनिन्थ्यो । ब्रह्मचर्य आश्रम ब्रह्म प्राप्तिका लागि गर्नुपर्ने र सत्यको खोजी नै बह्मचर्य जीवनको मूल अभिप्राय रहन्थ्यो ।
वेदलाई सर्वप्राचीन शास्त्र मानिन्छ । वेदभित्र सङ्गृहीत भएका विभिन्न ऋचामा आश्रम व्यवस्थाको भाव छ । आश्रम व्यवस्था भन्नाले मानिसको समग्र जीवन अवधिलाई विभिन्न चरणमा विभाजन गरेर मानव जीवनमा गर्नुपर्ने मानवीय काम कर्तव्यको विभाजन भन्ने बुझिन्छ ।
वेदकालीन समाजमा मानिसको आयु सय वर्षको मानेर ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास गरी चार वटा आश्रमको व्यवस्था उल्लेख छ । मानिसको २५ वर्षसम्मको आयु अवधिलाई ब्रह्मचर्य आश्रमका रूपमा चर्चा गरिएको छ । यस अवधिलाई मानिसको खास ज्ञान आर्जन गर्ने चरण मानिन्छ । ब्रह्म र आचार्य गरी दुई शब्दको संयोजनबाट ब्रह्मचर्य शब्द निर्माण भएको छ । ब्रह्म भनेको ज्ञान हो र आचार्य भनेको स्नातक उत्तर हो ।
विद्या अध्ययनका लागि जीवनको प्रथम चरणमा गरिने व्रतलाई ब्रह्मचर्य भनिएको छ । यस अवस्थामा मद्य, मांस, गन्ध तथा धनका पछाडि नलागेर मन, वचन र कर्मद्वारा ब्रह्मचर्यको पालन गर्दै २५ वर्षको उमेरसम्म गुरुको आश्रममा रहेर जीवन बिताउनुपर्ने नियम वेदमा उल्लेख गरिएको छ ।
ब्रह्मचर्य आश्रम खासगरी उपनयन संस्कारबाट प्रारम्भ हुने गर्छ । उपनयन संस्कार शिक्षा आरम्भको प्रतीक मानिन्थ्यो । यस संस्कार अन्तर्गत रहेर शिष्यहरू गुरु तथा ऋषि आश्रममा पुगेर अध्ययन गर्दथे । बालिकाहरू पनि गुरु आश्रममा बसी गृहकार्य र ललितकला शिक्षा प्राप्त गरी सुयोग्य बन्दथे ।
ब्रह्मचर्य आश्रम विवाहपूर्वको आश्रम भएकाले बालक भए ब्रह्मचारी र बालिका भए ब्रह्मचारिणीका रूपमा कहलिन्थे । यस आश्रम अन्तर्गत संयमी र तपस्वी जीवन बिताउनुपर्ने, भोग विलासका सामग्रीदेखि टाढा रही अनुशासित दिनचर्यामा रहनुपर्ने उल्लेख छ । जब मानिस स्नातक उत्तर हुन्छ तब विवाह पद्धतिमा बाँधिन योग्य बन्ने गर्छ ।
स्नातकोत्तरपश्चात् पनि विवाहबन्धनमा नबाँधी बस्ने पुरुषलाई ब्रह्मचारी र स्त्रीलाई ब्रह्मचारिणी वा ब्रह्वादिनी भनिन्थ्यो । ब्रह्मचर्य आश्रम ब्रह्म प्राप्तिका लागि गर्नुपर्ने र सत्यको खोजी नै बह्मचर्य जीवनको मूल अभिप्राय रहन्थ्यो । ब्रह्मचर्य आश्रममा प्रत्येक ब्रह्मचारीले आफ्नो जीवन सरल बनाउनुपर्ने, सम्पूर्ण वेदको अध्ययन गर्नुपर्ने कुरा उल्लेख छ । वेद नै त्यस बेलाको ज्ञानको स्रोत रहेको थियो ।
ब्रह्मचर्यको सम्बन्ध ऋषि ऋण तिर्नसँग पनि सम्बन्धित छ । मानव जीवनमा ऋषि ऋण, पितृ ऋण र देव ऋणसहितका प्रमुख ऋण हुने तथा ती ऋण तिर्नु नै मानव जीवनको मूल अर्थ मानिन्थ्यो । वैदिक समाजमा प्रत्येक व्यक्ति गुरुको अत्यन्त ऋणी बन्दथे । ब्रह्मचर्य आश्रममा रहेर वेद अध्ययन र विद्या प्राप्तिद्वारा ऋषि ऋणको चुक्ता गर्नु परम कर्तव्य मानिन्थ्यो ।
गुरुकुल आश्रमपश्चात् स्नातक उत्तर भई गृहस्थाश्रममा प्रवेश गर्दै ब्रह्मचर्य आश्रममा प्राप्त गरेको ज्ञानको प्रयोग र प्रसार गरेर ऋषि ऋण तिरिन्थ्यो । ब्रह्मचर्यको पालन गरी ज्ञानको प्रसार गरे मात्र ऋषि ऋणबाट मुक्त भइने भएकाले पनि ब्रह्मचर्यको महत्वपूर्ण भूमिका रहन्थ्यो ।
धर्म शब्द धृ धातुबाट बनेको छ । जसको अर्थ धारण गर्नु भन्ने हुन्छ । धर्मलाई ज्ञान प्राप्तिको अधिकार र कर्तव्यसँग जोडिएको छ । ब्रह्मचर्य आश्रमभित्र रहेर मानिसले धर्म प्राप्ति कार्य गर्दथे । धर्म भनेको समग्र मानव जीवनका लागि आवश्यक पर्ने शिक्षा प्राप्ति र अनुसरणलाई बुझिन्थ्यो । धर्म प्राप्ति कार्यबाट नै जीवन अवधिभर एउटा मानिसले गर्नुपर्ने सम्पूर्ण कार्यको ज्ञान प्राप्त हुन्थ्यो ।
पुरुषार्थको सन्दर्भमा धर्मको तात्पर्य मानिसको कर्तव्य तथा सदाचारको सिद्धान्तको रूप मान्न सकिन्छ । धर्म मानवीय आचरण एवं क्रियाशीलतालाई सदैव सदपथमा चलाउने एवं पे्ररित गर्ने एक अदृश्य वैचारिक संहिता हो । जसले मानिसलाई कर्तव्यपरायणका साथ मानिसलाई नित्य प्रोत्साहन एवं आनन्दको अनुभूति प्रदान गर्दछ । जस अनुसार चल्दा मानिस आत्मसंयमी र मोक्ष प्राप्ति पथमा अघि बढ्छ भन्ने मान्यता एवं अभ्यास वेदकालमा थियो ।
२५ देखि ५० वर्षको आयु अवधिलाई गृहस्थ आश्रमका रूपमा वेदमा चर्चा गरिएको छ । यस अवधिमा सन्तान उत्पादन र आर्थिक उत्पादन क्रियाकलापमा संलग्न हुनुपर्ने मानिन्छ । २५ वर्षपछि गुरुको आज्ञा लिएर आफ्नो वंश परम्परा अनुसार विवाह संस्कार पूरा गरेपछि गृहस्थ आश्रम प्रारम्भ हुने बताइएको छ ।
मानिसले विद्या आर्जन गरी स्नातकोत्तर बनेर विवाह संस्कारपश्चात् गृहस्थाश्रममा प्रवेश गर्दछ । गृहस्थ अवधिमा योग्य सन्तान उत्पादन गरी समाजको अभ्युत्थानको जिम्मा दिने, घरमा आउने अतिथिको स्वागत–सत्कार, सत्य बोली र आफ्नो शक्ति अनुसारको दान दिन अनिवार्य हुने कुरा वेदमा उल्लेख गरिएको छ ।
गृहस्थाश्रम अन्तर्गत मानिस आफ्नो जीवन धार्मिक बनाउँदै तीन ऋणबाट मुक्त हुन प्रयत्न गर्दछ । धर्म, अर्थ, काम, मोक्षको प्राप्ति नै मानव जीवनको मुख्य ध्येय हुन्छ भनी विद्वान् शिवदत्त ज्ञानीले उल्लेख गरेका छन् । गृहस्थाश्रममा रहेर परिवारको सम्पूर्ण भरणपोषणको उत्तरदायित्व निर्वाह गर्नुपर्ने, परिवारको सुशिक्षाको प्रबन्ध गर्नु पर्दछ । सन्तानको भरणपोषण, शिक्षाको व्यवस्था र मातापिताको सेवा गर्दै उत्तम सन्तान जन्म दिएपछि पितृ ऋणबाट छुटकारा मिल्ने कुरा वेदमा उल्लेख गरिएको छ ।
पितृ शब्दको अभिप्राय माता तथा पिता दुवैका लागि प्रयुक्त भएको छ । यी दुवैप्रति मानव जीवनको निकै ठुलो ऋण रहेको हुन्छ । जसद्वारा हाम्रो जन्म, पालनपोषण, प्रारम्भिक शिक्षा, सामाजिक जीवन आदि सम्भव भएको छ । यिनैमार्फत हामीले यस संसारमा सशक्त बन्ने अवसर प्राप्त गर्छौं । त्यसै कारण पितृ ऋणको विशेष सम्बन्ध पारिवारिक जीवनसँग सम्बन्धित रहेको बताउँदै कुनै पनि व्यक्तिले आफ्नो उत्तराधिकार प्रदान गरेर पितृ ऋण तिर्नुपर्ने सन्दर्भ वेदमा उल्लेख छ ।
मानिस जैविक प्राणी पनि हो । उसका जैविक आवश्यकताबमोजिमका काम वासना पनि हुन्छन् । काम वासना अन्तर्गत सम्पूर्ण मानवीय इच्छा पर्दछन् । विगतमा कामबाट नै मानिसका सन्तुष्टि र उत्सव पूरा गरिन्थ्यो । पितृ ऋण तिर्न गृहस्थ आश्रम प्रवेश गरी उत्तराधिकार प्रदान कार्य यसै ‘काम’ अन्तर्गत पर्दथ्यो । मनुष्यको आशक्तिमूलक वृत्ति, वासनाजन्य प्रवृत्ति एवं कामनालाई कामका रूपमा वेदमा उल्लेख गरिएको छ ।
वेदकालमा विवाह संस्कारपछि घरपरिवारको निर्माण हुने र त्यसको पालनपोषणका लागि आवश्यक स्रोतसाधन प्राप्त गर्न गरिने कार्यलाई अर्थ प्राप्ति कार्य मानिन्थ्यो । जसबाट मानिस समृद्ध हुने प्रयत्न गर्दछ । अर्थ अन्तर्गत भौतिक सम्पत्ति तथा अधिकार लिप्सा समावेश हुन्छ । अर्थलाई सांसारिक सुख प्राप्तिको साधन मानिएको छ । अर्थभित्र जीवनयापनका लागि आवश्यक पर्ने आर्थिक उत्पादनसम्बन्धी कार्य पर्दछन् । ब्रह्मचर्य आश्रममा प्राप्त गरेको धर्मपरक ज्ञानलाई उपयोग गरेर गृहस्थ आश्रममा प्रवेश गरेपछि घर व्यवहार सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य अर्थ अन्तर्गत पर्छन् । अर्थ अन्तर्गत आर्थिकका साथसाथै राजनीतिक पक्षको पनि संलग्नता रहन्छ । जसमा कृषि, पशुपालन, वाणिज्य तथा राज शासनलगायत पर्दछन् ।
जब मानिस ५० वर्षको उमेरसँगै गृहस्थ पार गर्दै गर्दा उसका उत्तराधिकारी पनि ब्रह्मचर्यबाट गृहस्थ प्रवेश गर्ने समय आउँछ । जैविक हिसाबले पनि मानिस कामइच्छाबाट टाढा बन्दै जाने परिस्थिति निर्माण हुन्छ । घरव्यवहार सन्तानलाई हस्तान्तरण गर्दै पारिवारिक जिम्मेवारीबाट छुटकारा खोज्ने परिवेश बन्छ । यस परिवेशले वानप्रस्थ आश्रमको आमन्त्रण गर्दछ ।
जीवनको तृतीय अंशमा वानप्रस्थ आश्रममा प्रवेश भई आत्मविकासको मार्गमा प्रवृत्त हुने, देश र समाजको हितमा ध्यान राखेर परिपक्व अनुभवसहित दर्शन, उपनिषद्को अध्ययनमा प्रयत्नरत रहने कुरा वेदमा बताइएको छ । वेदमा भनिएको छ वानप्रस्थ आश्रममा गृहस्थ छाडी जङ्गलमा रहेर सादा जीवन व्यतीत गर्ने, कन्दमूल अथवा भिक्षाटनद्वारा उदरपूर्ति गर्ने, यज्ञको नियमित अनुष्ठान गर्ने, ईश्वर चिन्तनमा मन लगाउनु पर्छ ।
सम्यक आत्म विकास गरेपश्चात् अन्तिम आश्रममा प्रवेश गरिन्छ । जसलाई सन्न्यास आश्रम भनिन्छ वानप्रस्थ जीवनपछि जीवनको अन्तिम अवस्थामा मोक्ष प्राप्तिका लागि सन्न्यास धारण गर्नुपर्ने तथा सन्न्यास अवधिमा इन्द्रियलाई वशमा राख्ने, स्त्री, पुत्र, धन र प्रिय वस्तुदेखि टाढा रहेर जीवनको अन्तिम लक्ष्य परमानन्द प्राप्तिका लागि प्रयत्नशील रहनु पर्छ ।
यस आश्रममा सब सांसारिक बन्धन तोडेर फ्याँकी दिने र सबै बन्धनबाट मुक्त भई आत्मिक बलबाट सुसज्जित बनेर सन्न्यासीका रूपमा देशभर घुमफिर गरेर सत्य, सिद्धान्तको प्रचारप्रसार गर्दै समाजको त्रुटि हटाउन सत्मार्गमा प्रेरित हुनुपर्ने वेदमा उल्लेख गरिएको छ । वेदकालमा मोक्ष प्राप्ति नै सन्न्यास आश्रमको मूल ध्येय थियो । मोक्ष शब्द मूक धातुबाट निर्माण भएको हो । जसको अर्थ मुक्त तथा स्वतन्त्र हुनु भन्ने बुझिन्छ । मोक्ष प्राप्तिलाई परम पुरुषार्थ मानिन्छ ।
गृहस्थ आश्रममा रहेको अर्थ र काम आशक्तिबाट छुटकारा लिई सन्न्यास आश्रम प्रवेश गर्नु नै मोक्ष प्राप्तिको मार्ग मानिएको छ । आत्माको सांसारिक आवागमनको मुक्ति नै मोक्षको अभिप्राय हो । मोक्षको अर्थ छुटकारा पनि हुन्छ । सामाजिक बन्धनहीन हुनु नै दुःखको अन्त्य हुनु र सुखको साम्राज्य प्राप्त हुनु हो । सबै प्रकारका इच्छाबाट छुटकारा प्राप्त गर्नु नै मोक्षको अभिप्राय हो ।
इस्वीको १९ औँ शताब्दीमा फ्रान्समा जन्मेका इमाइल दुर्खिमले समाज व्यवस्थाभित्रको श्रम विभाजनको व्याख्या गरेकाले उनलाई समाजशास्त्रका संस्थापकमध्येका एक मानिएको छ । उनले नै प्रकार्यवादी सिद्धान्तलाई स्थापित गरेका थिए । समाज व्यवस्थाभित्र विभिन्न एकाइको आफ्नो जिम्मेवारी हुन्छ । जसलाई त्यस एकाइको श्रम तथा कार्यका रूपमा बुझिन्छ । त्यही कार्यको आपसी अन्तरसम्बन्धबाट समाज गतिशील हुन्छ भन्ने सैद्धान्तिक धारणा विकास गर्न योगदान पु¥याएस्वरूप उनलाई समाजशास्त्रका संस्थापक मान्ने हो भने इसापूर्व १५ सय वर्षअघि नै वेदले मानिसको आयुलाई सय वर्षको मानेर मानिसका समग्र जीवनलाई २५–२५ वर्षको अवधिमा छुट्याएर फरक फरक खालको जिम्मेवारी वहन गर्नुपर्ने तथा श्रम विभाजनको सिद्वान्त बनाएको प्राचीन शास्त्र वेदलाई समाजशास्त्रको जननी मान्ने कि नमान्ने ?
माथि उल्लेख गरे जस्तै मानव जीवनका खास खास चरणमा खास खालको कार्यमा संलग्न रहेर मात्र मानव जीवन र सृष्टिको निरन्तरता रहने अवधारणा उजागर गर्ने वेद एवं वेदका ऋचा निर्माण गर्ने ऋषि, ऋषिकालाई समाजशास्त्रका संस्थापक भनेर मान्न मिल्छ मिल्ने ? यदि मिल्ने हो भने अहिलेसम्म समाजशास्त्रको उत्पत्ति युरोपबाट भएको हो, त्यस संस्थापकहरू अगस्ट कोम्ट, दुर्खिम आदि हुन् भनेर पढ्ने पढाइने कुरा अपूरा हुन् । समाजशास्त्रका संस्थापक वैदिक ऋषिहरू हुन्, प्राचीन शास्त्र वेद हो भनेर पढाइनुपर्ने बेला भएको छ ।
ज्ञानको पुञ्जका रूपमा रहेका प्राचीन शास्त्रको अध्ययन र विश्लेषण नगरी आधुनिकताको नाममा सय दुई सय वर्षयता आएर पश्चिमा विद्वान्ले सैद्धान्तिकीकरण गरेको भनिएका अवधारणालाई नै आधिकारिक मान्दा हामीले सिकेको ज्ञान पूरै अपुरो एवं अधुरो मात्र होइन मिथ्या नै बन्न पुगेको छ ।
