फिदिम, पुस ११ गते ।
‘यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथ्यो भने बसाइ सरिसकेको हुन्थेँ, यसले दिने आम्दानी सम्झेर अडिएको छुँ’ पाँचथरको फाल्गुनन्द –७ का लिलाबल्लभ नेपाल (दुर्गा) ले भन्नुभयो ।
आफ्ना दौंतरीहरु धेरै बसाई सरेर झापातिर झरिसके पनि लिलाबल्लभ गाउँमै खेतीपाती गरेर रमाइरहनु भएको छ । ‘छोराछोरी कोही विदेश त कोहि काठमाडौं पुगिसके, छिमेकी र इष्टमित्र धेरैजसो डोको बोक्दै बसाइ सरे । मलाई चाँहि यही ठाउँ प्यारो लाग्छ’ उहाँले भन्नुभयो ।
हुन पनि लिलाबल्लभसहित फाल्गुनन्द –७ आङसराङका एक सयभन्दा धेरै किसानको बारीमा पँहेलपुर सुन्तला पाकेका छन् । धान मकै र कोदोलगायतका अन्न फल्ने खेतबारी बाँझिए पनि यहाँका सुन्तला उत्पादक किसान आफ्ना पाखुराको बलमा श्रम र पसिना बगाएर उत्पादन गर्दै राम्रो मूल्य लिइरहेका छन् ।
१२ रोपनीमा सुन्तला रोप्नु भएका नेपालले गत वर्ष ९ लाख रुपियाँको सुन्तला बेचेको सुनाउनुभयो । यो वर्ष उत्पादन अझै बढेकाले १२ लाखसम्म मूल्य पाउने उहाँको अपेक्षा छ ।
सोरकुमार आङदेम्बे नेपालकै छिमेकमा २०५९ सालमा बसाइ सरेर आउनुभयो । सुन्तला रोपेको १० रोपनी जमिन र घरलाई ६ लाख रुपियाँमा किनेर तिनै सुन्तला स्याहार्न थाल्नु भएका उहाँले पहिलो वर्ष ८० हजार रुपियाँको सुन्तला बेच्नु भयो ।
झण्डै २ दशकदेखि तिनै सुन्तला स्याहार्दै आउनुभएका आङदेम्वे गत वर्ष ६ लाख रुपियाँमा बिक्री गर्न सफल हुनुभएको थियो । यो वर्ष व्यापारीले ९ लाख रुपियाँमा बगानका सबै सुन्तला किनेर लैजाने प्रस्ताव गरे पनि साढे दश लाखसम्म लिने आसयले विक्री नगरेको सोरकुमारकी पत्नी गंगाकुमारीले बताउनुभयो ।
यस स्थानमा सुन्तला रोप्दै आएका प्रायः किसान तत्काल गाउँ छोड्ने मनस्थितिमा छैनन । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने र रोग किराको उपचारसँगै सामान्य गोडमेल र सिँचाइ गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले यो खेतीमा किसानको आकर्षण बढेको छ । पछिल्लो समय यहाँ राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना अन्तरगतको प्राविधिक इकाइ पाँचथरमार्फत सुन्तला जोन कार्यक्रम पनि लागु भएको छ ।
कृषि ज्ञान केन्द्रको तथ्याङक अनुसार पाँचथरमा ९ सय ६० हेक्टरमा सुुन्तला खेती हुन्छ । जसको एक तिहाई भन्दा धेरै हिस्सा फाल्गुनन्द गाउँपालिकाले लिएको छ । फाल्गुनन्द ७ जस्तै मिक्लाजुङ ५ र कुम्मायक ४ मा पनि सुन्तला उत्पादन हुन्छ ।

