काठमाडौं, असार २० गते ।
नेपाल ट्रेड युनियन कांग्रेस सामाजिक सुरक्षा तथा श्रमिक सहकारी विभागले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले सहकारीलाई श्रमिकहरूको आर्थिक समृद्धिको सशक्त माध्यमका रूपमा चित्रण गर्नुभएको छ ।
उहाँले सहकारी प्रणालीलाई आर्थिक रूपान्तरणको प्रभावकारी मोडालिटी उल्लेख गर्दै भन्नुभयो, “अनौपचारिक तथा निम्न पूँजी भएका श्रमिकहरूले सानोसानो रकम संकलन गरी सहकारीको भावना अनुरूप लगानी गर्न सके, त्यसबाट रोजगारी सिर्जना हुँदै आर्थिक समृद्धिको बाटो खुल्छ।”
उहाँले सहकारीलाई व्यक्तिगत स्वार्थ मुक्त , पारदर्शिता र सहकारी सञ्चालनको मूलभूत सिद्धान्तमा रहेर सञ्चालन गर्न सके सहकारी संस्थाहरू कहिलै संकटमा नपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले ट्रेड युनियनमा आबद्ध रहेका श्रमिकहरूले, विभिन्न संरचनामा सहकारीको भावना अनुरुप बनाइएको सहकारी संस्थाहरू आजसम्म पनि संकटमा नपरेको दृष्टान्त प्रस्तुत गर्नुभयो।
उहाँले नेपाल सरकारका पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै , वि.सं. २०१५ सालमा इजरायल भ्रमणपछि कोइरालाले त्यहाँको सहकारी मोडेलबाट प्रेरित हुँदै वि.सं. २०१६ मा नेपालमा पहिलोपटक सरकारीरूपमा सहकारी ऐन जारी गर्नुभएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि ,नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकालले सहकारीका विषयमा हाल नेपालको अवस्थाबारे प्रष्ट पार्नुभयो।
कार्यक्रममा चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले, व्यवस्थापकीय कुशलताका कारण चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था अहिलेसम्म संकटमा नरहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमको सभापतित्व नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष एवं सामाजिक सुरक्षा तथा श्रमिक सहकारी विभागका संयोजक ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विभागका सहसंयोजक तथा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव कुलबहादुर खड्काले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेस केन्द्रीय महिला समितिका अध्यक्ष, विभिन्न आबद्ध संघका केन्द्रीय अध्यक्षहरू, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका अध्यक्षहरू लगायत श्रमिक नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।