बागलुङ, असार १९ गते ।
जिल्लाको ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भिरमह शिकार गरिएको छ । ताराखोला वडा नं. ५ मा पर्ने जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरमा मह शिकार गरिएको हो ।
जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार, यसवर्ष डेढ सय लिटर मह काढिएको छ । गत वर्ष जुल्फे र ठुलोभिरमा दुई सय साठी लिटर मह काढिएको थियो । ‘‘जलवायु परिवर्तनको असरले होला यसवर्ष मह उत्पादन घट्यो’’ घर्तिले भन्नुभयो । भिरमहको शिकारमा स्थानीय ६० जनासम्म सहभागि थिए । परम्पराका रुपमा भिरमहको सिकार हुँदै आए पनि यसलाई व्यावसायिक बनाउने घर्तीले योजना सुनाउनुभयो ।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी एक वर्ष मह उत्पादन बढ्ने अर्काे वर्ष घट्यो भने त्यसलाई जलवायु परिवर्तनको अवसर भन्न नमिल्ने बताउनुहुन्छ । ‘‘माहुरीलाई मह बनाउन आवश्यक पर्ने पानी र फुल चाहिन्छ’’ पन्थीले भन्नुभयो, ‘‘महका लागि अनुकुल समयमा पानी नपर्ने र फुल नफुल्दा मह उत्पादन घट्न सक्छ ।’’ लामो समयको अन्तरालमा मह उत्पादन बढ्ने र घट्ने भएमा त्यसलाई जलवायु परिवर्तनको असर भन्न सकिने डिभिजन प्रमुख पन्थीको भनाइ छ ।
मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताउनुभयो । यसवर्ष मह कम हुँदा समूहमा नराखी कामअनुसार बाँडफाँट गरिएको घर्तिले बताउनुभयो । एक लिटर महलाई १५ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । औषधीजन्य गुण र स्वास्थ्यबद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिरमह प्रयोग गर्छन् ।
कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुँदा जो कसैले सजिलै सिकार गर्न सक्दैनन् । जिजुबाजेले सिकाएको मह सिकारको ज्ञान र सिपलाई अँगाल्दै हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको घर्तिले बताउनुभयो । लेकाली चोयाँ र काठबाट बनेको पराङ मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको छ ।
जैविक गाउँपालिकाका रुपमा परिचित ताराखोलाले ग्रामीण पर्यटन प्रवर्धनमा भिरमहलाई जोड्ने योजना बनाएको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ बताउनुहुन्छ । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको विकको बुझाई छ । मह सिकारलाई साहसिक पर्यटनसँग जोड्न सके समृद्विमा पुग्न सकिने विकले बताउनुभयो ।