स्वच्छ वातावरण मानवीय आवश्यकता र चाहना मात्रै होइन, नेपालको संविधानको दिएको संवैधानिक हक र स्वास्थ्यसँग जोडिएको विषय पनि हो । पछिल्ला हप्तामा देशभर कहिले विश्वमै पहिलो त कहिले दोस्रो प्रदूषित सहरका रूपमा काठमाडाैँ दर्ज भइरहे । चैत २२ र २३ गते लगातार विश्वकै प्रदूषित सहरमा शीर्षस्थानमा रहेका काठमाडौँ र पोखरा न त औद्योगिक सहर हुन बरु शीतलता र सुन्दर सहरमा पर्छन् । चैत वैशाख डढेलो लाग्ने मौसम हो । वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर र निकै अस्वस्थकर विन्दुमा पुगेपछि के घर के कार्यालय के अस्पताल आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुक्खा हुने, एलर्जी हुने, टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या देखिए । श्वासप्रश्वासजन्य, दीर्घरोगी अस्पताल भर्ना र भेन्टिलेटरमै राख्नुपर्ने, हृदयाघातलगायतका बिरामी बढ्ने गरे ।
शुद्ध हावामा हानिकारक पदार्थ मिसिन गई जीवजन्तु वा बोटबिरुवामा नराम्रो असर पर्ने स्थितिलाई वायु प्रदूषण भनिन्छ । वायु प्रदूषणमा हावाले उडाउने धुलो, फूलका परागकण, ज्वालामुखी आदि प्राकृतिक प्रदूषक पर्छन् भने मानव सृजित वायु प्रदूषकमा बढ्दो सवारीसाधन, गुणस्तरहीन पेट्रोलियम पदार्थ, मर्मतसम्भार विहीन सवारीसाधन, अव्यवस्थित र साघुँरा सडक, सयौँ उद्योगको धुवाँ, घरमा दाउरा बाल्दा निस्कने धुवाँ, इँटाभट्टा आदि पर्छन् । मुख्य वायु प्रदूषकमा १० माइक्रोनभन्दा साना धुलोको कण पीएम १०, सल्फरका अक्साइडहरू, नाइट्रोजनका अक्साइडहरू, कार्बनका डाई तथा मोनो अक्साइड, लिड, ओजन, हाइड्रोजन छन् । वार्षिक ५० हजार टनभन्दा बढी घातक प्रदूषित ग्याँस थपिन्छन् र अहिले वातावरण क्षेत्र डामाडोल अवस्थामा छ । राजधानीको वायु प्रदूषणको झन्डै आधा हिस्सा सवारीसाधनको धुवाँले लिएको छ ।
सास फेर्न सकस
मानव शरीरका लागि नभई नहुने तत्व अक्सिजनका लागि हरेक मानिसले एक दिनमा करिब २२ हजार पटक श्वास फेर्छ, जसका लागि २५ किलो शुद्ध हावा जरुरत पर्छ । स्वास्थ्य मन्त्रालयको ढोकैमा सन् २०२३ मा झुन्डाइएको हेपा फिल्टरजडित कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि जनचेतनाका लागि निकाली पृथ्वी दिवसका दिन उपत्यकाका विभिन्न स्थानमा राखिएको थियो । १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत बालबालिका हरेक दिन प्रदूषित हावामा श्वास फेर्छन् । उनीहरूको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । जसले हरेक १० जनामा एक जनाको मृत्यु गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठन बताउँछ । संवेदनशीलतालाई हेरेर सूचकाङ्क एक्युआई ० देखि ५० लाई राम्रो, सूचकाङ्क ५१ देखि १०० लाई मध्यम, १०१ देखि १५० लाई संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । त्यस्तै सूचकाङ्क १५१ देखि २०० लाई अस्वस्थ र २०१ देखि ३०० लाई धेरै अस्वस्थ मान्दै सबै जनालाई खतरनाक वा हानिकारक मानिन्छ । सूचकाङ्क तीन सयभन्दा माथिलाई विपत् वा आपत्कालीन अवस्था मानिन्छ ।
स्वास्थ्य समस्या
ससाना कण फोक्सोबाट रक्तसञ्चार प्रणालीमा छिर्छ । प्रणालीमा जाँदा शरीरका सम्पूर्ण अङ्गलाई असर गर्ने सम्भावना रहन्छ । श्वासप्रश्वाससम्बन्धी समस्यामा दम, फोक्सो सङ्क्रमण, दीर्घ श्वासप्रश्वास समस्याहरू, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या उच्च रक्तचाप, मुटुरोग, हृदयाघात, एलर्जी तथा छालासम्बन्धी समस्यामा नाक, आँखा र छाला, मुख तथा पाचन प्रणालीसम्बन्धी समस्यामा मुखको घाउ, घाँटीको सङ्क्रमण, पाचनप्रणालीमा समस्याहरू, मिर्गौलाको कार्यक्षमतामा असर पार्दछ । अङ्गप्रत्यङ्गको विकास, फोक्सो, प्रतिरोधात्मक क्षमता र स्वस्थताले गर्दा जोखिम निर्धारण गर्छ । मुटु, मिर्गौला, टाउकोसम्मै पुगेर पक्षाघात, हृदयाघात, उच्चरक्तचाप, आँखा, क्यान्सरसमेत बनाउँछ । विकसित देशमा भन्दा नेपाल जस्ता देशमा जन्मने बालबालिकामा सर्भाइभल रेट दुई वर्षले कम छ ।
नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमा वायु प्रदूषण प्रमुख कारक हो । यसका कारण हरेक वर्ष हुने मृत्युमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र ज्येष्ठ नागरिक पर्छन् । स्टेट अफ ग्लोबल एयरले यसकै कारण नेपालमा कुल मृत्युमध्ये १९ प्रतिशत तथा फोक्सो रोगबाट हुने मृत्युमा ६६ प्रतिशत, मुटुको रोगबाट हुने मृत्युमध्ये ३४ प्रतिशत, मस्तिष्कघातबाट हुने मृत्युमध्ये ३७ प्रतिशत, श्वासप्रश्वास प्रणालीको सङ्क्रमणबाट हुने मृत्युमध्ये २२ प्रतिशत छ । त्यस्तै ३७ प्रतिशत मस्तिष्कघात, ३४ प्रतिशत मुटुरोग, ३४ प्रतिशत फोक्सोको क्यान्सर, २२ प्रतिशत नवजात शिशु तथा बालबालिकाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन बताउँछ । प्रदूषित वायु धूमपानभन्दा दोब्बर हानिकारक छ ।
स्वास्थ्यमा अल्प तथा दीर्घकालीन गरी दुई किसिमले असर पार्छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम, स्मरणशक्तिमा ह्रास, खाना नरुच्ने जस्ता समस्या ल्याउँछ । गर्भवती तथा गर्भको शिशुमा असर परी समयपूर्व शिशु जन्मने, कम तौल भएका बच्चा जन्मने खतरा हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या जटिल बन्दै दीर्घकालीनमा सास फेर्नका लागि सङ्घर्ष गर्नपर्ने अवस्था निम्त्याउँछ । वायु प्रदूषणले एलर्जी र दममा देखिए जस्तै टि हेल्पर लिम्फोसाइट टाइप १७ जस्ता प्रतिरक्षा प्रतिक्रियाका कारक बढाउँछ, एन्टिभाइरल प्रतिरक्षा प्रतिक्रियालाई बिगार्छ र खोपको प्रभावकारिता तथा रोगको पनि जटिलता बढाउने गर्छ । वायुमण्डलको ओजन तह नष्ट गर्छ ।
सरकारी प्रयास
२०७८ को जनगणनामा नेपालमा ६६ लाख ६६ हजार ९३७ घरधुरी छन । जसमा अझै पनि ५१ प्रतिशत घरमा दाउरा र तीन प्रतिशत घरमा गुइँठा बाल्ने गरिन्छ । घरभित्रको प्रदूषण सिधै फोक्सोमा जाने र असर पर्ने भएकाले झन् बढी खतरनाक मानिन्छ । तीन प्रतिशत नेपालीसँग चारपाङ्ग्रे गाडी छ भने २७ प्रतिशतसँग दुईपाङ्ग्रे तथा साइकल ३५ प्रतिशतसँग छ । उपत्यकामा भने १० प्रतिशतसँग चारपाङ्ग्रे, ४९ प्रतिशतसँग दुईपाङ्ग्रे र १३ प्रतिशतसँग मात्रै साइकल छ । त्यस्तै सार्वजनिकभन्दा निजी सवारीसाधन धेरै बढी छन् । भएका प्रदूषणरहित साइकल, गाडी पनि प्रयोगमा त्यति आएका छैनन् । संविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बा“च्न पाउने हकको व्यवस्था छ । वातावरण संरक्षण ऐन, २०७६ मा कसैलाई मापदण्ड विपरीत कार्य गर्न नपाउने व्यवस्था छ । त्यस्तै वातावरण क्षेत्र सुधारको रणनीतिक कार्ययोजना, २०७८ तथा काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मा योजनाहरू अगाडि सारिएका छन् । वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ पनि छन् । तथापि मापदण्ड नमान्ने उद्योग, कम्पनी, ७७ प्रतिशत बढी सवारीसाधनलाई कारबाही भएको पढ्न र सुन्न पाइँदैन । अदालतमा मुद्दा परिरहेका छन्, ठोस कदम चाल्न, कारबाही गर्न छुट्टै निकाय बनाउन, २० वर्ष पुराना सवारी हटाउन निर्णय तथा निर्देशन पनि हुन्छ तर कार्यान्वयन एकदमै कमजोर देखिन्छ ।
पूर्वतयारीले रोकथाम
२०७७ चैतमा वायु प्रदूषण एक्युआई ४७० अत्यधिक भएपछि सरकारले चार दिन विद्यालय बन्द गरेको थियो । उपत्यकामा बढ्दै गरेको प्रदूषणले भोलि स्वच्छ हावा तथा श्वास फेर्नका लागि क्लिन एयर ब्याग बोकेर हिँड्ने दिन नआउँला भन्न सकिँदैन । विश्वका दुई ठुला र अति धेरै वायु प्रदूषण उत्सर्जक चीन र भारतबिच अवस्थित छ । वायु प्रवाहका लागि कुन भिसा चाहिँदैन । कचौरा जस्तो उपत्यकामा सदाबहार समस्याका रूपमा रहेको वायु प्रदूषणले ल्याउने विपत्लाई पूर्वतयारीले रोकथाम गर्नु पर्छ । प्रदूषणका बेला हिँड्नु नै व्यायाम हो भन्ने सोचबाट मुक्त भई बिहान र बेलुका हिँडाइ रोक्नु पर्छ ।