काठमाडौं, वैशाख ६ गते ।
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सामुदायिक विकास नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले भन्नुभयो, “स्थानीय तहबाटै विकास सुरु हुन्छ, समुदायको सशक्त र समावेशी विकासले मात्र राष्ट्र समृद्धितर्फ उन्मुख हुन्छ।”
उहाँले समुदायमै विकासको जग बलियो बनाइने हो भने,देश समृद्ध बनाउने लक्ष्य सहजै हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा नागरिक समाजका प्रतिनिधिहरूसमेतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभयो।
कार्यक्रमको सभापतित्व सामुदायिक विकास नेपालकी अध्यक्ष मनिषा पोखरेलले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा वरिष्ठ समाजसेवी कोमलप्रसाद लामिछानेले आतिथ्यता गर्नु भएको थियो।
विशिष्ट अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सदस्य शम्भुप्रसाद अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्यहरू तथा विभिन्न संघसंस्थामा आबद्ध विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रमको समापनमा सामुदायिक विकास नेपालकी अध्यक्ष मनिषा पोखरेलले सामुदायिक सद्भाव, सहभागिता र सहयोगका माध्यमबाट आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।