alliance khabar

आइतबार, मंसिर ०९, २०८१

भैरहवा, मङ्सिर ९ गते ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान नरोकिने बताउनुभएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सरकार दृढ र प्रतिबद्ध रहेकाले सुरु भएका अन्तर्राष्ट्रिय उडान अब विगतमा झैँ नरोकिने बताउनुभएको हो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए पनि यसको दिगोपनालाई लिएर व्यवसायीले आशङ्का गरेपछि उडान निरन्तर रहनेमा ढुक्क हुन आश्वस्त पार्नुभयो ।

“यो विमानस्थल नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले यहाँबाट उडान हुँदा यात्रुलाई पनि सहज भएको छ । त्यति मात्र नभए यहाँको पर्यटन व्यवसायले पनि गति लिएको छ,” उहाँले भन्नुभयो ।

विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा दुई पटक अवलोकनका लागि आउने मन्त्री पाण्डेले जानकारी दिनुभयो । “विमानस्थल सञ्चालनको दिगोपनाका लागि नै म महिनाको दुई पटक भैरहवा आउँछु,” उहाँले भन्नुभयो, “संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्ने पनि लागेको छ ।”

उहाँले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालय स्थापनाका लागि साउनमै निर्णय भइसकेको पनि सो क्रममा जानकारी दिनुभयो । यसका लागि अब काठमाडौँ फर्केर प्रधानमन्त्रीस्तरीय बैठक बसी कार्यान्वयन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रूपमा गर्नुपर्ने कामलाई सूचीबद्ध गरेर लैजाने योजना रहेको पनि उहाँले बताउनुभयो । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रत गतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आधारभूत पूर्वाधार छिटो पूरा गर्न आग्रह गर्दै नतिजा देखिने हिसाबले पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामाले बुद्ध धर्म बाहुल्य रहेका देशसँग अन्तर्राष्ट्रिय उडान गर्नका लागि निरन्तर छलफल गरिरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि भारतका उच्चस्तरीय व्यक्तिसँग पनि निरन्तर वार्ता गरिरहेको उहाँले जानकारी दिनुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताबबाबु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वटा वायुसेवा कम्पनीले उडान गरिसकेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय एयरलाइन्सलाई दिएको छुटको हिसाब गर्दा बैङ्कक गएर आउने जहाजले साढे ११ लाख छुट पाउने बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलका लागि न्यूनतम पूर्वाधार पूरा गर्न आग्रह गर्दै श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र म्यानपावरका शाखा रुपन्देहीमै ल्याउन मन्त्रीलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल