काठमाडौँ, मङ्सिर ६ गते : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।
विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको टोली बिच अजरबैजानको बाकुमा भएको दुई पक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका सह महासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतात्वको टोली सहभागी थियो । छलफलमा युएनडिपीले नेपालमा सञ्चालित कार्यक्रमको समीक्षा गर्दे आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम ब्युरो निर्देशक समेत रहनुभएका मार्कोसले दुई पक्षीय भेटमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान ९एनडिसी ३० बनाउने तथा कार्यान्वयन योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिनुभयो । संक्षिप्त प्रतिक्रिया दिँदै सह महासचिव मार्कोसले नेपालको समुन्नत विकासमा युएनडिपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधैँ तयार रहेको बताउनु भयो । साथै नेपालले हिमालको मुद्दा र हानि नोक्सानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले जलवायु अनुकूलन कार्य, हानी नोक्सानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र युएनडिपीको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले विशेष गरेर जलवायु प्रतिबद्धता, स्केला लगायत कार्यक्रमहरूलाई नेपाल सरकारसँगको सहकार्यमा सञ्चालन गरिने बताउनु भयो ।
युएनडिपीले राष्ट्रिय जैविक विविधता रणनीति र कार्य योजना बनाउन नेपाल सरकारलाई सहयोग गरिरहेको छ । नेपालस्थित युएनडिपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजना मार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।