Alliancekhabar

बिहिबार, मंसिर ०६, २०८१

सन् १९०० नोभेम्बर ३ मा अमेरिकामा प्रथम अटोमोबाइल प्रदर्शनी न्युयोर्क शहरको मेडिसन स्क्वायर गार्डेनमा जनमानसका लागि सुरु गरियो । नवोदित अटोमोबाइल क्लब अफ अमेरिकाद्वारा प्रायोजित यो प्रदर्शनी अटोमोबाइल प्रविधिमा शताब्दीका तीन प्रतिस्पर्धी ‘इन्टरनल कम्बस्टन इन्जिन’, ‘स्टिम इन्जिन’ र ‘इलेक्ट्रिक इन्जिन’ बीच भावी दिनमा प्रभाव विस्तारको प्रतिस्पर्धा थियो ।

सन् १९०० मा भएको त्यस गाडी प्रदर्शनीमा राखिएका १६० अटोमोबाइलमध्ये एक तिहाइ गाडी इलेक्ट्रिक थिए । जबकि सन् २०२३ मा अमेरिकामा इलेक्ट्रिक कार र ट्रकको बिक्रीको हिस्सा ७.६ प्रतिशत मात्र थियो । त्यतिबेला आविष्कार गरिएका इलेक्ट्रिक अर्थात् विद्युतीय गाडी चलनचल्तीका अटोमोबाइलहरूमध्येमा आरम्भिक चरणमा थिए । तैपनि पेट्रोल र जलवाष्प (स्टिम) ले चल्ने प्रतिस्पर्धी गाडीको दाँजोमा इलेक्ट्रिक गाडीको बेग्लै फाइदा थियो ।

सन् १८३२ : रोबर्ट एन्डर्सनद्वारा प्रथम विद्युतीय बग्गी आविष्कार 

स्कटल्यान्डका आविष्कारक रोबर्ट एन्डर्सनले सर्वप्रथम विद्युतीय मोटरद्वारा चालित घोडारहित बग्गी बनाएको तथ्यबाहेक उनका बारेमा त्यति धेरै जानकारी छैन । सन् १८३० को दशकमा ब्याट्री धेरै नै साधारण थिए । त्यसैले एन्डर्सनले बनाएको विद्युतीय बग्गी धेरै तेज गुड्न वा धेरै परसम्म जान सक्दैनथ्यो तर उनी विद्युतीय गाडी बनाउने विश्वको पहिलो व्यक्ति हुन् ।

सन् १८५९ : ग्यास्टन प्लान्टेले रिचार्ज गर्ने पहिले ब्याट्री बनाए 

इस्वी संवत्को १९ औँ शताब्दीमा विद्युतीय गाडीको विकास ब्याट्री प्रविधिको विकासका साथसाथै भयो । एन्डर्सनले बनाएको विद्युतीय बग्गी व्यावहारिक थिएन किनभने त्यसको ब्याट्री एक पटक मात्र चार्ज गर्न मिल्थ्यो र त्यसपछि त्यसलाई हटाउनु पथ्र्यो । यो समस्या सन् १८५९ मा समाधान भयो । फ्रान्सेली रसायनशास्त्री ग्यास्टन प्लान्टेले जतिपटक पनि रिचार्ज गर्न मिल्ने ‘लिड एसिड ब्याट्री’ बनाएर ब्याट्री विकासमा क्रान्ति ल्याए ।

सन् १८६० मा प्लान्टेले फ्रेन्च एकेडेमी अफ साइन्सेसमा आफूले बनाएको लिड एसिड ब्याट्री प्रदर्शन गरेका थिए । यस ब्याट्रीले पूर्ववर्ती ब्याट्रीको दाँजोमा अधिक चार्ज मात्र सञ्चय गर्दैनथ्यो बाह्य विद्युतीय स्रोतबाट सजिलै रिचार्जसमेत हुन्थ्यो । आजसमेत पेट्रोल गाडीमा प्रयोग हुने विशेषखालको १२ भोल्टको कार ब्याट्री लिड एसिड ब्याट्री नै हो ।

सन् १८८१ : कमिल फौरेद्वारा हल्का र लामो समय चल्ने ब्याट्री आविष्कार

प्लान्टेले बनाएको रिचार्जयोग्य ब्याट्री त्यतिबेला क्रान्तिकारी उपलब्धि थियो तर उनले बनाएका लिड एसिड ब्याट्री त्यसबेलाका गाडीका लागि धेरै ठूलो र निकै गह्रौँ थिए । विद्युतीय गाडीका लागि वास्तवमा फ्रान्सका कमिल फौरेले बनाएको हलुका र सानो आकारका ब्याट्री व्यावहारिक भए ।

फौरेले विस्फोटक पदार्थ बनाउने उद्योगमा एक रसायनशास्त्रीका रूपमा काम गर्दथे । त्यसको अनुभव र ज्ञान उनले ब्याट्री बनाउनमा प्रयोग गरे । लिड एसिड ब्याट्रीमा प्रयुक्त लिडका प्लेटमा सल्फेटको मोलम्मा चढाए र त्यसले ब्याट्रीको क्षमता धेरै नै वृद्धि भएको थियो । फौरेले बनाएको ब्याट्री सानो र शक्तिशाली भएका कारण चाँडै लोकप्रिय भयो ।

सन् १८८३ : पहिलो विद्युतीय गाडी 

पहिलो गाडी बनाउने श्रेय सामान्यतया कार्ड बेन्जलाई जान्छ । उनले आफूले बनाएको पेट्रोलले चल्ने तीनपाङ्ग्रे गाडीको सन् १८८६ मा एकस्व अधिकार लिएका थिए तर त्यसको तीन वर्षपहिले नै एक फ्रान्सेली गाडी निर्माताले विद्युतीय गाडी बनाएर बेचेको समेत भनिन्छ ।

पर्सियाली बग्गी निर्माता तथा कमिल फौरेको व्यावसायिक साभेदार चाल्र्स जिन्तोले सन् १८८१ मा फौरेले बनाएको ब्याट्रीलाई बग्गीमा राखेर परीक्षण गर्न सुरु गरेका थिए । अभिलेखले के भन्छ भने जिन्तोले सन् १८८३ सम्म विद्युतीय बग्गी बनाउने र बेच्न थालिसकेका थिए । त्यसको तीन वर्षपछि मात्र बेन्जका मोटरकार जर्मनीका सडकमा देखिए ।

सन् १८९३ : अमेरिकामा पहिलो विद्युतीय कार प्रदर्शनी

सन् १८८९ मा पेरिसमा आयोजित विश्व प्रदर्शनपछि सन् १८९३ मा अमेरिकाको सिकागोमा विश्व प्रदर्शनी आयोजना गरियो । प्रदर्शनीमा राखिएका मोटरद्वारा सञ्चालित हुने केही गाडी हेर्नका लागि मानिसको घुइँचो लाग्यो । वल्र्ड कोलम्बियन एक्सबिसन नामले चिनिएको सिकागोको मेलामा अमेरिकीहरूले भविष्यको वाहनको प्रथम रूप हेर्ने अवसर पाए, त्यो थियो विद्युतीय गाडी ।

सन् १८८० मा स्टकल्यान्डका आप्रवासी विलियम मोरिसन आयोवाको डेस मोइनेसमा बसाइँ सरे । उनी तालिमप्राप्त एक रसायनशास्त्री थिए तथा विद्युत् र ब्याट्रीको अनुसन्धानमा उनको औधि रुचि थियो । एक आभूषण केन्द्रको भूमिगत तलामा आफ्नो प्रयोगशाला स्थापना गरी मोरिसनले नौलो खालको हलुका ब्याट्री विकास गरे । डेस मोइनेस बग्गी कम्पनीद्वारा बनाइएको एउटा बग्गीमा हेरफेर गरी उनले सन् १८८७ मा विद्युतीय मोटर जडान गरी त्यसलाई आफूले बनाएको ब्याट्रीद्वारा चलाए । त्यसले एउटा मात्र पाङ्ग्रा घुमाउँथ्यो ।

सन् १८९३ को मेलामा मोरिसनले अझै परिष्कृत विद्युतीय बग्गी प्रदर्शनीमा राखेका थिए । मेलामा प्रदर्शनमा राखिएको अर्को एक मात्र अटोमोबाइल डेमलर बेन्जको थियो । ‘क्वाड्रिसाइकल’ नामको सो गाडी पेट्रोलद्वारा चल्दथ्यो र त्यो आधुनिक कारभन्दा पनि साइकल जस्तो लाग्थ्यो ।

सन् १८९४ : ‘रिजेनरेटिव ब्रेकिङ’ युक्त प्रथम विद्युतीय कार 

फ्रान्समा चाल्र्स जिन्तोको समकालीन थिए लुई एन्टोन क्रिगर । जिन्तोसरह उनी पनि पेरिसमा मोटरले चल्ने घोडाविहीन बग्गी बनाउने प्रयासमा लागेका थिए । विशेषगरी उनी त्यस्तो ट्याक्सी बनाउन चाहन्थे ।

क्रिगर इलेक्ट्रिकल इन्जिनियर पनि थिए र उनले आफ्नै ‘डिसी मोटर’ बनाएका थिए । त्यसलाई अगाडिका दुवै पाङ्ग्रा घुमाउने गरी बग्गीमा अगाडिको ‘एक्सल’ मा जडान गरिएको थियो । यसमा बेजोड के थियो भने यसले ‘रिजेनरेटिव ब्रेकिङ’ प्रविधिद्वारा आफ्नो ब्याट्रीलाई पुनर्चार्ज गर्न सक्थ्यो । यो प्रविधि आधुनिक हाइब्रिड र विद्युतीय कारमा एक शताब्दीसम्म देखिएन ।

सन् १८९७ : न्युयोर्कमा विद्युतीय ट्याक्सी 

विद्युतीय र हाइब्रिड ट्याक्सी अचेल शहरी क्षेत्रमा देखिनु सामान्य जस्तै भएको थियो तर सय वर्षपहिले नै न्युयोर्कका धनाढ्यका लागि विद्युतीय ट्याक्सी उपलब्ध भएका थिए ।

फिलाडेल्फियाका आविष्कारक पेड्रो सालोम र हेनरी मोरिसले विद्युतीय गाडी बनाए । उनीहरूले बनाएको पहिलो विद्युतीय कारलाई विचित्रको नाम दिइयो ‘इलेक्ट्रोब्याट’ । मूल ‘इलेक्ट्रोब्याट’ सामान्य कारको दाँजोमा अधिक गह्रौँ थियो किनभने त्यसमा लिड एसिड ब्याट्रीले बढी ठाउँ लिन्थ्यो ।

त्यसपछि ‘इलेक्ट्रोब्याट’ २ बजारमा ल्याइयो । यसको तौल केही कम थियो । सालोम र मोरिसले न्युयोर्कको इलेक्ट्रिक भेहिकल कम्पनीलाई आफ्ना गाडी ट्याक्सीका लागि ब्रिकी गरे । २० औँ शताब्दीमा प्रवेश गरुन्जेलसम्म न्युयोर्कका सडकमा दुई सय विद्युतीय ट्याक्सी गुड्न थालेका थिए ।

सन् १८९९ : १०५ किलोमिटरको गतिमा गुड्ने पहिलो विद्युतीय कार

लामो दूरीको रोड रेस र स्पिड ट्रायल सुरुदेखि नै १९ औँ शताब्दीमा अटोमोबाइल संस्कृतिको हिस्सा थिए । विद्युतीय गाडीले लामो दूरीको प्रतिस्पर्धामा सङ्घर्ष गर्नु परिरहेको अवस्थामा ती छोटो दूरीको रेसमा चाहिँ प्रभावकारी थिए ।

सन् १८९९ मा बेल्जियमका इन्जिनियर तथा विद्युतीय कारका शोखिन कमिल जनात्सीले रकेट आकारको कार ‘ल जमाइस कन्टान्टे’ लाई १०५ किलोमिटर गतिमा गुडाए ।  पहिलो पटक विद्युतीय गाडी यतिको गतिमा गुडाइएको थियो । त्यस कारमा लगाइएका ब्याट्रीले ६७ हर्सपावर शक्ति उत्पादन गरेका थिए तर त्यसका टायरले गति बढाउन बढी योगदान गरेको मानिन्छ । त्यस समयको अटोमोबाइलको विपरीत त्यसमा काठका पाङ्ग्रा लगाइएका थिए ।

सन् १९१४ : हेनरी फोर्डले आफ्नी श्रीमतीलाई विद्युतीय कार किने 

२० औँ शताब्दीमा पेट्रोलले चल्ने गाडीका बादशाह मानिएका हेनरी फोर्डले सन् १९०८ मा बनाएको मोडेल टी अमेरिकाको बजारमा व्यापक रुचाइएको थियो तर यसको अर्थ फोर्डलाई विद्युतीय गाडी मन पर्दैनथ्यो भन्नेचाहिँ होइन । उनी र थोमस एडिसनले कम खर्चिलो फोर्ड गाडी बनाउन वर्षौंदेखि प्रयास गरिरहेका थिए तर त्यसो गर्न सकेनन् । पेट्रोल इन्जिनको दाँजोमा विद्युतीय इन्जिनले त्यति सारो आवाज पनि नगर्ने र हेर्दा पनि चिटिक्क देखिने भएकाले फोर्ड त्यसमा आकर्षित थिए तर विद्युतीय गाडी महँगा हुन्थे । सबैले यो खरिद गर्न सक्दैनथे । सन् १९१४ मा फोर्डले आफ्नी श्रीमती क्लारालाई डेट्रोइटमा एक शानदार विद्युतीय कार किनिदिए । फोर्डको टी मोडेलको मूल्य चार सय ४० डलरको दाँजोमा विद्युतीय कारको मूल्य तीन हजार ७३० डलर परेको थियो ।

सन् १९२० : इन्टरनल कम्बस्टन इन्जिनको वर्चस्व

विद्युतीय गाडीको दिन सन् १९०३ देखि नै सकिन लागेको थियो । क्लाइड जे कोलेमनले एक विद्युतीय अटोमोबाइल स्टार्टरका लागि एकस्व प्राप्त गरेदेखि विद्युतीय गाडीको अन्त्य हुन सुरु भयो । एक दशकपछि चाल्र्स कोटरिङले जनरल मोटर्समा कोलेमनको डिजाइनमा सुधार गरी सन् १९१२ मा केडिलेकमा प्रथम इलेक्ट्रिक स्टार्टर स्थापना गरे ।

त्यसअघिसम्म पेट्रोल चालित कारलाई सुरु गर्न धेरै मेहनत गर्नु पथ्र्यो । इन्जिनको ‘क्रेङ्क’ लाई जोरले घुमाएपछि मात्र इन्जिन चालु हुन्थ्यो । ब्याट्रीको शक्तिले इन्जिन चालु हुन थालेपछि ‘क्रेङ्क’ नचाहिने भयो । सजिलै पेट्रोल इन्जिन चालु गर्न सकिने भयो । वास्तवमा विद्युत् र ब्याट्रीकै कारण पेट्रोल इन्जिनका गाडीले बजारमा वर्चस्व बनाएको भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ