alliance khabar

शुक्रबार, भाद्र ०८, २०८०

बेनी, ८ भदौ

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो ।

गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई रु ५५ लाख नौ सय र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ ।

प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

“पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छाँै”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा रु एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा रु एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु एक करोड ६१ लाख राजस्व सङ्कलन गरेको थियो ।

घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल