alliance khabar

बिहिबार, कार्तिक ०८, २०८१

बैतडी, कात्तिक ८ गते ।

आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको मुखैमा घरको ढोकामा ताल्चा लगाएर रोजगारी खोज्न सिङ्गै गाउँ भारतको बैङ्लोर हिँडेपछि सदरमुकामको तिरगाउँ सुनसान बनेको छ ।

दशरथ चन्द नगरपालिका–४, तिरगाउँका २२ वर्षीय हरिस तिरुवा चार कोठको घरमा ताला लगाएर बालबच्चासहित भारत हिँडेपछि मङ्गलबार गाउँमा रुवाबासी चल्यो । हरिससँगै गाउँका दीपक तिरुवा, महेश तिरुवाको परिवार पनि भारत हिँडेका छन् । स्वदेशमा गरिखान पर्याप्त जग्गा जमिन नभएको र ज्यामी काम नपाउँदा छोरा भारत पलायन भएको मदन तिरुवाले पीडा सुनाउनुभयो ।

ढोकामा ताल्चा लगाएर गाउँबाट एकैचोटि ३० जना युवा परिवारसहित भारत हिँडेपछि गाउँ उराठ लाग्दो बनेको दशरथचन्द नगरपालिका–४ का युवा प्रेम बोगटीले बताउनुभयो ।

ज्यामी काम गर्दै आइरहेका हरिस तिरुवाले घरको ढोकामा ताल्चा लगाएर आमा, परिवार र बालबच्चा बोकेर भारत जानु परेको बाध्यता सुनाउनुभयो । रोजगारीका लागि भारत पलायन हुने परिवारलाई लिन मङ्गलबार दुई वटा हाइस गाडी गाउँमा पुग्दा छिमेकीले आँसु थाम्न नसकेको स्थानीय प्रेम तिरुवाले बताउनुभयो । रोजगारीका लागि घरपरिवारसहित भारत पलायन भएपछि गाउँ नै रित्तिएको दृश्य पहिलो पटक देखेको उहाँले बताउनुभयो ।

रोजगारी खोज्न भारत जाने घरपरिवारलाई बिदाइ गर्न सडकसम्म आइपुगेका मदन तिरुवाले जिल्ला सदरमुकाममै रोजगारीको बाटो नभएको बताउनुभयो । उहाँले, स्थानीय तहको सरकारले डोजर मेसिन भित्र्याएपछि मजदुरले काम पाउन छाडेको बताउनुभयो ।

पछिल्लो समय परिवारसहित भारत पलायन हुनेमा अधिकांश दलित समुदायका व्यक्ति रहेका छन् । यहाँको सुर्नयाँ गाउँपालिकाको  पत्थरकोटबाट मात्रै दुई सयभन्दा बढी दलित भारतमा काम गरिरहेको स्थानीय जीवन पार्कीले बताउनुभयो ।

दशरथ चन्द नगरपालिका–४, ५, ६, ७ ८, ९ र १० नम्बर वडाका अधिकांश दलित मुक्त हलियासमेत भएकाले रोजगारीका लागि भारत जाने गरेको हलिया मुक्ति समाजका अगुवा राजुराम भुलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दशरथ चन्द नगरपालिका–४, बाडीलेक गाउँबाट मात्रै ६० जना युवा रोजगारी खोज्न भारत गएका छन् । तीमध्ये ३५ जना मुक्त हलियाका छन् ।” स्थानीय तहले बेरोजगारीलाई एक सय दिनको रोजगारी दिँदै आएको भए पनि मुक्त हलिया समेटिन नसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल