वराहक्षेत्र, असोज १३ गते : अविरल वर्षाका कारण सप्तकोसी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुर बारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
बालचनखोरिया क्षेत्रमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईका अनुसार नदीमा फसेका २५ जना कृषकहरू सकुशलै रहेका छन् । उनीहरू आफन्तको सम्पर्कमा रहेको उहाँले जानकारी दिनु भयो । नदीमा आइतबार बिहानदेखि नै पानीको बहाव घट्दै गएपछि अवस्था सहज हुँदै गएको हो ।
टापुमा फसेका वराहक्षेत्र २ का पाँच जना, र वराहक्षेत्र छ ठाकुर बारी क्षेत्रका का १५ जना सकुशल रहेको प्रहरी निरीक्षक राईले बताउनु भयो । वराहक्षेत्र ९ को राजावास नदी क्षेत्रको टापुमा फसेकाहरु पनि सकुशल रहेको प्रहरीले जनाएका छ । नदीको बिच भागमा गोठ राखेर बसेका कृषकहरू डुङ्गा लिएर आफै नदी वारपार गर्दै आएका थिए । कृषकहरू टापुमा छाडा चरिचरण हुने भएकाले वर्षौँदेखि पशुको गोठ राखेर चरीचरण गर्दै आएका छन् ।
शनिवार नदीको बिच भागमा फसेका कृषकहरूको उद्धार गर्न सबै प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन । वराहक्षेत्र नगरपालिका ६ चिलैया र ९ को टापु क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सप्तकोसी नदीको बिच भङ्गालोमा फसेका थिए । उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टर मगाए पनि प्रतिकूल मौसमको कारण आउन सकेको थिएन ।