alliance khabar

शुक्रबार, भाद्र ०७, २०८१

सर्लाही, भदौ ७ गते ।

सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा ट्याक्टरमा राखेर खाद्यान्न ढुवानी गर्न थालिएको छ । अत्यावश्यक काम परेका स्थानीयसमेत खाद्यान्न बोकेको ट्याक्टरमै चढेर लालबन्दी बजारसम्म आउजाउ गर्न थालेका छन् । बर्खा लागेदेखि नारायणखोलामा बस सञ्चालन भएको छैन ।

सडक सञ्जालमा नजोडिएको सर्लाहीको साबिक नारायणखोला गाविस (हालको लालबन्दी नगरपालिका–१४, लखन्देही र डाइनीखोला भएर आउजाउ गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाबाटै बस गुडे पनि बर्सायाम सुरु भएपछि आउजाउ बन्द हुने गरेको छ ।

गत असारदेखि बस सञ्चालन नहुँदा स्थानीयलाई दैनिक उपभोग गर्ने खाद्यान्नको अभाव हुन थालेको छ । स्थानीयले केही दिनदेखि लालबन्दी बजारसम्म ट्याक्टर ल्याएर चामल, दाल, नुन, तेललगायतका खाद्यान्न लैजाने र आफू पनि त्यही ट्याक्टरमा चढेर जाने गरिरहेका छन् ।

लालबन्दी–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले खाने अन्न नै सकिएपछि स्थानीयले जोखिम मोलेरै ट्याक्टरमा खाद्यान्न ढुवानी गर्न सुरु गरेका जानकारी दिनुभयो । पछिल्लो आठ/१० दिनदेखि खोलामा निरन्तर बाढी आइरहँदा पनि स्थानीयले बाध्यतावश ट्याक्टरको टेलरभरि खाद्यान्न हाल्ने र त्यसैमाथि आफूहरूसमेत बसेर गाउँसम्म पुग्ने गरेका वडाध्यक्ष घिसिङले बताउनुभयो ।

खाद्यान्न लोड गरिएको टेलर खोलामा ठाउँठाउँमै फस्दा दुई/तीन वटा ट्याक्टरको इन्जिन जुटाएर तान्ने गरिएको स्थानीयले बताएका छन् । लालबन्दी बजारमा रहेको वडा कार्यालय, नगरपालिका तथा हरिवनमा रहेको इलाका प्रशासन कार्यालयमा आउनुपर्ने काम भएका स्थानीय खाद्यान्न लिन लालबन्दी बजार आउने ट्याक्टरमा नै चढेर आउजाउ गर्ने गरेका छन् ।

कतिपय पैदल नै हिँडेर आउँछन् । गाउँमा वडा कार्यालय राख्दा विद्युत्, इन्टरनेट, फोनको समस्या हुने बरु लालबन्दीमै सहज हुने भन्दै लालबन्दी–१४, नारायणखोलाको वडा कार्यालय स्थानीय तह घोषणा भएदेखि नै लालबन्दी–८ स्थित बजारमा ल्याएर राखिएको छ ।

भौगोलिक रूपमा चुरेको ठुलो पाखा पर्ने नारायणखोलामा नगरपालिका कार्यालयले केही वर्षअघिदेखि चुरे पाखा फोडेर सडकको ट्र्याक खन्न सुरु गरे पनि काम पूरा हुन सकेको छैन । नारायणखोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको सीमा क्षेत्रबाट लालबन्दी बजार आउनका लागि पत्थरकोटमा गाडी चल्ने ठाउँसम्म आउनुपर्दा तीन घण्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले दुःखेसो पोखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल