alliance khabar

बिहिबार, साउन २४, २०८१

काठमाडौँ, साउन २४ गते ।

सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्रामा व्यङ्ग्यविनोदको महत्व उच्च छ । सांस्कृतिक रूपमा नै व्यङ्ग्यविनोदलाई गाईजात्राका बेला अपनाइँदै आइएको हो । नेपालको सन्दर्भमा गाईजात्रे हास्यव्यङ्ग्यलाई कलाकारले पेसाकै रूपमा अघि बढाउँदै लगेको पाइन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ३० को दशकमा सुरु गरेको गाईजात्रे कार्यक्रम राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा–प्रतिष्ठानका भवनमा महिनौँ दिनसम्म सञ्चालन हुने गरेका थिए । गाईजात्राको दुई महिनाअघि नै बजारमा क्यासेट चक्काको बिक्री ह्वात्तै बढ्थ्यो । अहिले ती सबै इतिहासका कथा बने ।

हास्य कलाकार दीपाश्री निरौलाका अनुसार गाईजात्राको महत्व पञ्चायतकालमा एकदमै धेरै थियो तर अहिले ३६५ दिन नै गाईजात्रा नै गाईजात्रा छ । सामाजिक सञ्जालमा गाईजात्रे प्रवृत्तिबाहेक केही देखिँदैन ।

उहाँका अनुसार गाईजात्राका बेला सरकार र तिनले गरेका गतिविधिलाई नै हास्य कलाकारले लक्षित गरी व्यङ्ग्य गर्छन् । समसामयिक विषयमा कलाकारले व्यङ्ग्य नगरेका होइनन् तर यतिबेला तिजका गीत र गाईजात्रे गीतमा फरक पाउन छाडिएको अनुभव कलाकार निरौलाको छ ।

नेपाली क्यारिकेचरमा जातीय भाषा, भेष, क्षेत्र लक्षित गरिएको भन्ने विरोधका आवाजसमेत उठ्न थालेका छन् । नेपाल जस्तो भाषा, धर्म, संस्कृति, जातीय विविधता भएको मुलुकमा क्यारिकेचर गर्दा यस्ता विषयमा ध्यान दिनुपर्ने धारणासमेत सार्वजनिक भएका छन् । त्यस्तो कार्यमा कलाकार सचेत हुनुपर्ने धारणा उहाँको छ । तथापि गाईजात्रामा सबै जातजातिको क्यारिकेचर गर्ने गरिएको निरौलाले बताउनुभयो ।

नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनाली, वसुन्धरा भुसाल, तैयव शाह, राजाराम पौडेल, किरण केसी, सन्तोष पन्त, मनोज गजुरेल, दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, केदार घिमिरे, कुञ्जना घिमिरे, जितु नेपाल, दमन रूपाखेती, शिवशङ्कर रिजाल, कमलमणि नेपाल, हिमेश पन्त, सुबोध गौतम, दिनेश काफ्ले, भरतमणि पौडेल, निरु खड्का, सुरवीर पण्डित, सुरेन्द्र केसी, खड्गबहादुर पुनलगायत सयभन्दा बढी हास्य कलाकार स्थापित छन् ।

धेरै हास्य कलाकारले गाईजात्रामा प्रस्तुति दिन छाडिसकेका छन् । तथापि हास्य कलाकार शिवशङ्कर रिजाल (जोगिन्दर) ले गाईजात्रे कर्मलाई छाड्नुभएको छैन । उहाँले भन्नुभयो, “गाईजात्राको प्रहसन गरेर त्यो बेलाको साख जोगाइरहेको छु ।” उहाँका अनुसार पञ्चायतकालमा गाईजात्रे कार्यक्रम गर्न निकै कठिन थियो । अञ्चलाधीशले स्क्रिप्ट पारित गरेपछि मात्र मञ्चन गर्न पाइन्थ्यो । लोकतन्त्रपछि गाईजात्रे कार्यक्रममा केही विकृति आएको अवस्था छ ।

उहाँ भन्नुहुन्छ, “गाईजात्रामा नेतालाई सिर्जनात्मक रूपमा व्यङ्ग्य गरिन्थ्यो । अहिले नेतालाई अभद्र र अशब्द तरिकाले गाली गरिन्छ । त्यसले पनि गाईजात्राको साख घटेको हुन सक्छ ।” हास्य कलाकार शिवहरि पौडेलले पछिल्लो समय जाति, भाषा जस्ता विषय निकै संवेदनशील बन्दै गएकाले जातीय रूपमा व्यङ्ग्य गर्न बन्द गरिनुपर्ने बताउनुभयो । उहाँले गाईजात्रामा हँसाउने प्रवृत्तिमा परिवर्तन आउन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल