Alliancekhabar

आइतबार, साउन १३, २०८१

काठमाडौँ, साउन १३ गते : आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट आठ रुपियाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाखको विद्युत आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपियाँ १७ पैसा छ ।

गत आवमा आयातभन्दा १२ करोड २३ लाखको बढी विद्युत भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको छ । आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाखको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाखको निर्यात गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत आयात गर्नु परे पनि निर्यातको परिमाण बढ्दै जाने बताउनुभयो । “छ-सात वर्षअघिसम्म विद्युत आयातकर्ताको मात्र अवस्था थियो, तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्त्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुङ्गा हो ।”

विद्युतको पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । “विद्युत निर्यात परिमाण बढ्दा नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ”, उहाँले भन्नुभयो ।

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित छ सय ९० मेगावाट विद्युत निर्यात अनुमति पाएको हो ।

कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट विद्युत निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गर्नुभयो । “हरियाणा र विहार राज्यलाई बिक्री गर्ने गरी थप चार सय मेगावाट विद्युत निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बङ्गलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दछौँ”, उहाँले भन्नुभयो । ‘लिऊँ या तिर’ सर्तसहित विद्युत् खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रूपमा खेर नगएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल