बर्दिवास, साउन ४ गते : गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ । नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाती आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।
स्थानीय भोला सहनी, विन्दे सहनी र चन्दर सहनीले अवैधानिकरुपमा कब्जा गरेको जग्गा खाली गराउन पटक–पटक निर्देशन र आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर सुरक्षा परिचालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
वडाध्यक्ष मनोजकुमार चौधरीकाअनुसार आधारभूत विद्यालयका १८ कठ्ठा जग्गा छ । सोही जग्गामध्ये करिव तीन कठ्ठामा उनीहरुले आफुखसी घर बनाएर बसोवास गर्दै आएका थिए । यी परिवारका कारण विद्यालयको भौतिक सुरक्षामा पनि समस्या आउन थालेपछि सामाजिक स्तरबाट समेत जग्गा खाली गराउन दबाब परेको थियो ।
नगरपालिकाले २८ लाख रुपियाँ सहयोगमा अहिले विद्यालयको कम्पाउण्ड लगाउने काम भइरहेको छ । अतिक्रमणका कारण कम्पाउण्डको काम निर्वाधरुपमा अघि बढन सकेको छैन ।
चौधरीले भन्नुभयो, ‘‘विद्यालय र समाजको आग्रहलाई सुनुवाइ नगरेपछि नगरपालिकाले ३५ दिने र ७ दिने सूचना जारी ग¥यो । त्यसको पनि अटेर गरेपछि बाध्य भएर सुरक्षा घेरामा डोजर चलाउनु परेको हो ।’’
अतिक्रमित जग्गा खाली गराउन ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो । सुरक्षा नेतृत्व गर्नुभएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानले घर गोठ हटाउने क्रममा कुनै प्रकारको अप्रिय घटना नघटेको बताउनुभयो ।
सहनी परिवारले आफ्नो नाममा जग्गा हुँदाहुँदै पनि विद्यालयको जग्गा अतिक्रमण गरेर घर बनाएदेखि विरोध हुँदै आएको थियो ।