Alliancekhabar

सोमबार, आषाढ ३१, २०८१

म्याग्दी (बेनी), असार ३१ गते : बेनी नगरपालिका–२, खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । बर्सौंदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीलाई लक्षित गरेर चार वर्ष अघिबाट सो योजना सञ्चालन गरिएको हो । खबरा खानेपानी योजनामार्फत १८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो । योजना पूर्ण रूपमा सम्पन्न नभए पनि अहिलेसम्म १८० घरधुरीमा पानी पुगेको छ ।

खबरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम कुँवरले खबरा बस्तीमा वर्षौंदेखिको खानेपानीको चरम समस्या अब हटेको बताउनुभयो । चार वर्षअघि सञ्चालन गरिएको योजनामार्फत घर घरमा जडान गरिएका छन् ।

धारामा पानी खसेपछि स्थानीयले खानेपानीको समस्याबाट मुक्ति पाएको भनाइ उहाँको छ । खबरामा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकारको बजेटलाई बेनी नगरपालिकाले ठेक्कामार्फत कार्यान्वयन गरेको हो ।

चालु आर्थिक वर्षसम्म आइपुग्दा तीन वटा ठेक्कामार्फत योजना निर्माण भएको छ । हालसम्म एक करोड ३१ लाख ७२ हजार रुपियाँ खर्च भइसकेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । खबरा गाउँदेखिमाथि मुलछरीको मुहानबाट पानी ल्याएर २५० घरधुरीमा निजी धारामार्फत पानी वितरण गर्ने योजना अनुसार हालसम्म ५० हजार क्षमताका दुई वटा रिजर्भ ट्याङ्की, ३५ वटा वितरण च्याम्बर र पाँच वटा डिसी लाइन निर्माण गरिएका छन् ।

बेनी नगरपालिकाका सबइन्जिनियर कमल थापामगरले योजना सम्पन्न गर्न तीन आर्थिक वर्षमा फरक फरक ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ का लागि भ्याटसहित ८७ लाख ९९ हजार लागत अनुमान गरिएकोमा ६२ लाख ११ हजार रुपियाँमा खुसीहोम विल्डर्ससँग ठेक्का सम्झौता भएको थियो ।

पहिलो वर्ष इन्टेक निर्माण, ५० घनमिटरको आरसिसी ट्याङ्की, घेराबार फिटिङ, वितरण च्याम्बर ३० वटा, तीन वटा ब्रेक प्रेसर च्याम्बर, मुख्य पाइपलाइन र वितरण लाइन निर्माण गरिएको सबइन्जिनियर थापामगरले बताउनुभयो ।

दोस्रो वर्ष २०७९÷८० मा भ्याटसहित ५४ लाख ३७ हजार रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा श्रमजीवी निर्माण सेवासँग ४२ लाख २७ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । सो योजनामार्फत ५० घनमिटरको आरसिसी ट्याङ्की, ६० वटा निजी धारा र घर घरमा जाने पाइपलाइन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ३८ लाख ८८ हजार रुपियाँ लागत अनुमान गरिएकोमा २७ लाख ३३ हजार ५४९ रुपियाँमा बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो ।

सो योजनामा १२० वटा धारा निर्माण र  फिटिङसहित पाँच सय मिटर पाइपलाइन निर्माण भएको सबइन्जिनियर थापामगरले जानकारी दिनुभयो । पाइपलाइन, डिसी लाइन र वितरण च्याम्बर निर्माणमा ठेकेदारले लापर्बाही गरेकाले योजना गुणस्तरीय नभएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले गुनासो गर्नुभएको छ । ठेकेदारको लापर्बाही, प्राविधिकबाट नियमित अनुगमन नहुनु र कमसल सामग्रीको प्रयोगका कारण योजना निर्माण कमजोर भएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले बताउनुभयो ।

“योजना सम्पन्न भयो भनेर भनिएको छ तर राम्रो बनेन,” उहाँले भन्नुभयो, “योजना निर्माणमा ठेकेदारको चरम लापर्बाही देखियो ।” खबरा खानेपानी योजनामा ठेकेदार पक्षबाट भएको लापर्बाही र कमसल सामग्रीको प्रयोगलाई लिएर नगरपालिकाले ठेकेदार पक्षलाई सचेत बनाएको नगरप्रमुख केसीले बताउनुभयो ।

“ठेकेदारबाट लापर्बाही भएको भन्ने उपभोक्ताको कुरा सत्य हो । कमसल पाइप प्रयोग गरेको भन्ने उपभोक्ताको गुनासो आएपछि गाडिएको पाइपसमेत निकालेर अर्को पाइप राख्न लगाएका हौँ,” नगरप्रमुख केसीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल