Alliancekhabar

बिहिबार, आषाढ १३, २०८१

रामेछाप, असार १३ गते : रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल थानापति महादेव मन्दिर परिसरमा यो वर्ष विभिन्न पूर्वाधार निर्माण गरिएको छ । सडक सञ्जाल र अन्य पूर्वाधार निर्माण भएपछि विशेष पर्वमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढ्दो छ ।

मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा रहेको थानापति महादेव मन्दिर विकासका लागि मन्थली नगरपालिकाले नौ करोड ७० लाख रुपियाँको लागतमा डिपिआर निर्माण गरेको छ ।

डिपिआर अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारको आठ लाख र मन्थली नगरपालिकाको १५ लाख गरी २३ लाख रुपियाँको लागतमा पूर्वाधार निर्माण भएको थानापति विकास समितिका सचिव विष्णुकुमार बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथका रूपमा थानापति महादेवलाई पुजिन्छ । यो मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो । यो वर्ष मन्थली नगरपालिकाले विनियोजन गरेको १५ लाख रुपियाँ बजेटबाट मन्दिर परिसरको बायाँतर्फ जाली भरेर पर्खाल उठाएर ठाउँ फराकिलो बनाइएको छ ।”

प्रदेश सरकारको पर्यटन विकास आयोजनाको सात लाख ६९ हजार २३० रुपियाँ र उपभोक्ता समितिको ८८ हजार ९७७ रुपियाँ खर्चेर मन्दिरनजिकै रहेको डाँडाको टुप्पोमा जाने सिमेन्टको सिँढी तथा रेलिङ निर्माण भएको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार तीन सय वर्ष पुरानो इतिहास बोकेको थानापति महादेव मन्दिरमा हरितालिका तिज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । थानापति महादेवको मन्दिरमा रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखासहित काठमाडौँबाट दर्शनार्थी आउने गरेका छन् । थानापति महादेव मन्दिरमा गई पूजाआराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको वर पाइने विश्वास छ ।

मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि घेराबारसहितको आकर्षक सिँढी निर्माण गरिएको छ । सदरमुकाम मन्थलीबाट वडा नं. ८ चिसापानी र मन्थली नगरपालिका–१०, चनखु हुँदै जाने सडकमार्ग प्रयोग गरेर थानापति महादेव मन्दिर पुग्न सकिन्छ । सडक सञ्जाल र अन्य पूर्वाधार निर्माणका कारण अहिले विशेष पर्वमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढेको मन्थली नगरपालिका–९ का वडाध्यक्ष गोकर्णराज आरण बताउनुहुन्छ । थानापति महादेव मन्दिरमा पूर्वाधार विकासका बनेको डिपिआर अनुसार चाँडोभन्दा चाँडो थानापति महादेवको मन्दिर आसपासमा पूर्वाधार विकास गर्ने विषयमा नगरपालिका प्रतिबद्ध भएर लागेको मन्थली नगरपालिकाका सबइन्जिनियर कृष्णदास श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल