Alliancekhabar

बुधबार, जेठ २३, २०८१

लेखनाथ, जेठ २३ गते :   पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ ।

श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले दुईदिने मेला भव्यताका साथ सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेला रोजगारी दिने र रोजगारी खोज्नेबिचको पुल बनेको छ ।”

मेलामा रोजगारीका लागि फाराम भरेकालाई पछि सम्बन्धित कम्पनीले बोलाउने छन् । सोही आधारमा उनीहरूले रोजगारी पाउने कम्पनीले जनाएका छन् । श्रम मन्त्रालयका उपसचिव एवं गण्डकी प्रदेशका मेला संयोजक शारदा भण्डारीले आगामी वर्ष तीन तहकै सरकारले मिलेर एकै पटक मेला गर्ने योजना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मेलाले विशेष गरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण काम गरेको छ । अर्को वर्ष तीन तहकै सरकार मिलेर एकै पटक मेला गर्ने योजना छ ।” सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

मेलामा मङ्गलबार रोजगार क्षेत्रका समस्या र सम्भावनाबारे सरोकारवालाले छलफल गरेका छन् । कार्यक्रममा ‘पर्यटनले कोर्नुपर्ने बाटो’ शीर्षकमा धर्मराज पन्थी, लक्की क्षेत्री र वासु त्रिपाठीले बहसमा भाग लिनुभएको छ । उहाँहरूले पर्यटन राजधानी घोषणा भएको पोखरामा त्यसका लागि आवश्यक बजेट व्यवस्था गरी रोजगारी सिर्जना र समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

अर्को सत्रमा सहभागीले ‘श्रम कानुनका अप्ठ्यारा र फुकाउनुपर्ने गाँठा’ बारे विचार राखे । पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्की, उद्यमी विक्रम कर्माचार्य र हस्तकला व्यवसायी रामकली खड्काले नेपालको श्रम कानुनमा रहेको केही कठिनाइ फुकाउन बाँकी रहेको बताउनुभयो ।

मेलामा सरोकारवालाले ‘रोजगारी र शिक्षाका लागि कार्यस्थलमा आधारित सिकाइ’ बारे छलफल गरेका छन् । गण्डकीको मेलामा छ विषयमा प्यानल डिस्कसन, आठ शीर्षकमा काउन्सिलिङ भएको छ । मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

होटल सङ्घ नेपाल (हान) को संयोजनमा भएको मेलाका सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घलगायतका संस्था छन् ।

मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसङ्घलगायतका कुल ४२ स्टलहरू थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल