alliance khabar

बुधबार, चैत्र २८, २०८०

महोत्तरी, २८ चैतः हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।

रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।

इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि सर्दाम जुटाउन लागिएको मटिहानी–८ नुरी बस्तीका २५ वर्षीय मोहम्मद इसराफिल राइन बताउनुहुन्छ । हिजरी संवत्को पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु)ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउन बाटो खुल्ने भङ्गाहा–४ रामनगरका ५० वर्षीय सहबुल अन्सारीले राससलाई बताउनुभयो ।

इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।

इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग पुकारा गर्छन् ।

रमदान महिनाभरिको रोजा (उपवास)को उत्सवमय समापन नै ईद भएको पाका इस्लाम धर्मावलम्बी बताउँछन् । ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दान जसलाई इस्लाम परम्पराले ‘जकात’ भन्छ, यो इस्लाम हुनुको कर्तव्य मानिने रामगोपालपुर–२ का महम्मद कादिर हुसैन बताउनुहुन्छ ।

“इस्लामका पाँच आधारस्तम्भ सहादा (मुस्लिमपन्थको स्वीकारोक्ति), नमाज (प्रार्थना), रोजा (रमदान महिनाको उपवास), जकात (आफ्नो कमाइबाट गरिबलाई दिन छुट्याइने रकम) र हज (मक्काको तीर्थयात्रा) हुन्”, हुसैन भन्नुहुन्छ, “मक्का जाने कुरा आर्थिक अवस्थासँग जोडिने हुँदा स्वेच्छिक देखिन्छ, तर अन्य चार सबै मुसलमानका लागि अनिवार्य छन् ।”

अहिले रमदान समापन हुन लागेका बेला प्रत्येक बस्तीमा कुरान वाचन भइरहको छ । महोत्तरीका सबैजसो बस्तीमा धेरथोर इस्लाम धर्मावलम्बी छन् । जिल्लाका सम्सी, जलेश्वर, मटिहानी, लोहारपट्टी, भङ्गाहा र बलवासहितका स्थानीय तहका धेरै बस्ती मुस्लिम बसोबास बाहुल्य छन् । ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्ती अहिले ईदमय बनेका देखिदा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल