alliance khabar

शुक्रबार, चैत्र १६, २०८०

इलाम, १६ चैत: सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । “कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो”, शाहले भन्नुभयो, “जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको जागिर दिएको छ । आजदेखि पढाउन थालेँ ।” बिहीबारदेखि महेन्द्रोदय विद्यालयमा अध्यापन सुरु गरेको उहाँले सुनाउनुभयो ।

शाह मात्र होइन नगरपालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरेकाले बिहीबारदेखि रोजगारी पाएका छन् । ‘नगरको इच्छा,छोरीबुहारीलाई शिक्षा’ नाराका साथ कर्फोक क्याम्पसमा निःशुल्क स्नातक पढाइ सुरु भएको पाँच वर्ष भयो । “हालसम्म एक सय ५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्”, नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, “उत्तीर्ण भएकालाई नगरपालिकामा रोजगारी दिन निवेदन माग गरेकोमध्ये १५ जनाको आवेदन प्राप्त भयो । उहाँहरुलाई बिहीबारदेखि एक सय दिनको रोजगारीका लागि यहाँका विभिन्न विद्यालय र अन्य कार्यालयमा खटाइएको छ ।”

विद्यार्थीले पढेको विषय र उनीहरूको योग्यताअनुसार नगरपालिकाले रोजगारी दिएको हो । दुई जनालाई वडा कार्यालय, एक जनालाई नगरको शिक्षा, युवा तथा खेलकुद शाखा, एक जनालाई प्रसूति तथा बाल क्लिनिक र बाँकी सबैलाई विभिन्न विद्यालयमा खटाइएको छ । उनीहरूले खटाइएका ठाउँमा सय दिन काम गर्नेछन् । नगरप्रमुख राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भए पनि रोजगारी दिइएको बताउनुभयो । “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो”, प्रमुख राईले भन्नुभयो, “छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरीबुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।” राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताउनुभयो । “स्नातक गरेका छोरीबुहारीलाई रोजगारीका कार्यक्रमले थप मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो, “उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग पाउने छ ।”

नगरपालिकामा बसोवास गर्ने परिवारका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई नगरपालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख राईले बताउनुभयो । “कानुनीरुपमा उमेर पुगे पनि २०–२२ वर्षका छोरीहरु विवाह होइन पढाइप्रति नै ध्यान दिनुपर्छ । उनीहरुलाई पढाइप्रति नै आकर्षित गर्नुपर्छ भनेर यो कार्यक्रम कार्यक्रम कार्यान्वयन गरिएको हो ।”

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन विधामा योग्यता छ, त्यसैमा रोजगारी दिइएको बताउनुभयो । “कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन गरेका छौँ ।” उहाँले भन्नुभयो । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या दुई सय पुगेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताउनुभयो । नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरीबुहरी करफोक क्याम्पसमा विविध विषयमा अध्ययन गरिरहेका छन् ।

क्याम्पस प्रमुख कट्टेलले नगरपालिकाको छात्रवृत्ति कार्यक्रमका माध्यमबाट ग्रामीण भेगका छोरीबुहारीले क्याम्पस पढ्न पाएका बताउनुभयो । “आर्थिक अवस्था सबल नभएका गाउँका छोरीबुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ”, उहाँले भन्नुभयो, “छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई प्रोत्साहन मिलेको छ ।” करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच र बिएड अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्ला बाहिर रहेकाले १५ जनाले मात्र सय दिनको रोजगारी लिएका नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टराईले बताउनुभएको छ ।

शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी परिणाममुखी भएको विद्यार्थीले बताएका छन् । गोर्खेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक गर्ने भन्ने चिन्ता थियो तर उहाँलाई नगरपालिकाले पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी सुजता ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा नै स्नातक उत्तीर्ण हुनुभयो । हाल उहाँ स्नात्तकोत्तर अध्ययन गरिरहनुभएको छ । “परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ”, सुजताका बुबा प्रेमले भन्नुभयो, “हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक तहमा पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह गर्नुपर्नेलगायत समस्याबाट मुक्त हुन पालिकाको यो काम उदाहरणीय मात्र होइन प्रशंसनीय छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल