alliance khabar

शनिबार, फाल्गुण १२, २०८०

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ ।

कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ । केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

महानगरले विसं २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ । “सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो । व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ”, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो । यस प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्दै उहाँले अनुरोधलाई अटेर गरेर प्लास्टिकका फूलको प्रयोग गरेको भेटिए कारबाही गरिने बताउनुभयो ।

प्लास्टिकजन्य वस्तुका कारण सृजित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । “सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ वा फोहरको पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले वातावरणमा नकारात्मक असर गर्दछ”, पाण्डेले भन्नुभयो ।

स्रोतबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाइने

कामपाले फोहरको स्रातेबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । ३२ वडा रहेको कामपाले वडा नं २७ बाट सङ्कलन गरिएका करिब १४ हजार किलोग्राम जैविक फोहर टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको कामपा वातावरण विभागले जनाएको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएका फोहरलाई छुट्टै सङ्कलन र व्यवस्थापन गरिदैँ आइएको विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी वडा नं २७ बाट गरिएको हो । आगामी दिनमा सबै वडाबाट यस कार्यलाई निरन्तरता दिन तयारी भइरहेको कामपाले जनाएको छ ।

वडा नं २७ को फोहर वर्गीकरण गरेर गत माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले सङ्कलन भएको फोहरलाई पाइल (सङ्कलन गरिएका फोहरका थुप्रो) गर्न थालिएको भन्दै अहिलेसम्ममा चार वटा पाइल तयार भइसकेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल