alliance khabar

शुक्रबार, माघ २६, २०८०

कञ्चनपुर, २६ माघ : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन् । स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा सङ्कलन गरी सो मन्दिर निर्माण गरेका थिए ।

मन्दिरको जीर्णाद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । “मन्दिरको गुम्बजमा लगाइएको प्लास्टर खस्न थालेको छ,” उहाँले भन्नु भयो, “प्लास्टर खसेर सरिया देखिन थालेका छन्, समितिसँग मर्मत–सम्भार गर्नका लागि आवश्यक रकम छैन ।” उहाँका अनुसार स्थानीय समाजसेवीको पहलमा मन्दिर परिसरमा निर्माण गरिएको एक सय आठ शिवलिङ्ग रहेको चक्रव्यूह मर्मत–सम्भारका पर्खाइमा रहेको छ । मन्दिरको जीर्णोद्धार गरिदिनका लागि नगरपालिका सहितका दातृ निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो । मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत–सम्भार नगरिए दुर्घटना निम्तिन सकिने उहाँको भनाइ छ ।

नगरप्रमुख रणबहादुर महराले चालु आर्थिक वर्षको बजेटमा रामजानकी मन्दिरका लागि रु तीन लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्दिर व्यवस्थापन समितिले निर्णय गरी मन्दिर जीर्णाेद्धार वा कुन क्षेत्रमा बजेट खर्च गर्ने भन्नेबारे निर्णय गरी भौतिक संरचना मरमत गरिने बताउनुभयो । “बजेटको व्यवस्था गरिदिएका छौँ,” उहाँले भन्नुभयो, “समितिका पदाधिकारीले निर्णय गरी उपयुक्त क्षेत्रमा बजेटको सदुपयोग गर्नुपर्छ ।”

समितिका अध्यक्ष ऐरका अनुसार मन्दिरको संरक्षणमा रहेको जग्गा समेत अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणकारीहरुले सालको सुकेको रूख घेरेर टिनको अस्थायी पर्खाल निर्माण गरेका छन् । तीन वर्षअघि देखि जग्गा अतिक्रमण गरी पक्की घरहरु निर्माण गरिएका छन ।

शुक्लाफाँटा–११ वडाअध्यक्ष शेर बहादुर साउदले तत्काल अतिक्रमण हटाउनका लागि अतिक्रमण गर्नेहरुलाई मन्दिर समितिका पदाधिकारीको रोहवरमै कार्यकक्षमै बोलाएर भनिसकिएको जानकारीदिनुभयो । अतिक्रमण तत्काल हटाउने सहमति गरे पनि अतिक्रमण अहिलेसम्म हटाइएको भने छैन । मन्दिरमा मङ्सिरदेखि असार महिनासम्म विवाह, व्रतबन्ध गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । दिनमा दुईदेखि तीनवटासम्म विवाह, व्रतबन्ध गर्ने व्यक्तिहरुको समूह मन्दिरमा पुग्ने गर्दछन् ।

समितिले विवाह, ब्रतबन्ध गर्नेहरुलाई आवश्यक भाँडाकुँडा, खानेपानी, शौचालय, विवाहमण्डपलगायत व्यवस्था मिलाउने गर्दछ ।व्यवस्था मिलाएबापत समितिलाई विवाह, व्रतबन्ध गर्नेहरुले रु दुई हजार पाँच सय २५ शुल्क बुझाउनुपर्ने नियम बनाइएको छ । शुल्कबापत उठेको रकम मन्दिर परिसरको सरसफाइ, पुजारीलाई दक्षिणा दिनमै ठिक्क हुने गरेको अध्यक्ष ऐरको भनाइ छ । गत आवमा नगरपालिकाको रु सात लाख बजेटमा निर्माण सुरु गरिएको तीनकोठे भवनको छत ढलान गरिएको छ । छत ढलानपछि भवनमा झ्याल ढोका, पर्खाल, प्लास्टर, फर्स ढलानलगायत कार्य आवश्यक बजेट अभाव हुँदा निर्माणको कार्य अगाडि बढ्न नसकेको अध्यक्ष ऐरले बताउनुभयो । मन्दिर एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको छ । मन्दिर स्थानीय समाजसेवीको पहलमा २०५२ सालमा स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल