ताप्लेजुङ, कात्तिक १६ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा सञ्चालन हुने छ वटा महत्वपूर्ण योजना कार्यान्वयनका लागि बोलपत्रमार्फत निर्माण व्यवसायी तथा आपूर्तिकर्ता छनोट गरेको छ ।
गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार छनोट भएका व्यवसायीलाई विभिन्न योजना तथा कार्यक्रमको जिम्मेवारी प्रदान गरिएको हो ।
थुकियाखोला–ओरखुम–घोरेटार–फाखोङदेन सिँचाइ आयोजनाको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी जलजले निर्माण सेवा तथा सप्लायर्सले ८८ लाख ६४ हजार २६५ रुपियाँमा पाएको छ । त्यसैगरी, वडा नं. १ स्थित पार्टी आधारभूत विद्यालयको सातकोठे भवन निर्माणको जिम्मेवारी मैवा कन्स्ट्रक्सनले एक करोड ११ लाख पाँच हजार १५७ रुपियाँमा पाएको छ ।
नवज्योति आधारभूत विद्यालयको चारकोठे भवन निर्माणका लागि सूर्य निर्माण सेवा ६० लाख ५९ हजार २८९ रुपियाँमा छनोट भएको छ । नेरुवाखोला–एकबाँसे–खाम्सादेन–टिम्बुरेखोला क्षेत्रको सडक स्तरोन्नति गर्ने जिम्मेवारी नव उदय निर्माण सेवाले ४४ लाख ७८ हजार ७०४ रुपियाँमा पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभित्रका घरधुरीमा फुसको छानो विस्थापन गरी जस्तापाता उपलब्ध गराउने योजनाका लागि आवश्यक सामग्री आपूर्तिको जिम्मेवारी ताप्लेजुङ बिल्डर्स प्रालि काठमाडौँले पाएको छ । उक्त कम्पनीले एक करोड ५६ लाख ६९ हजार ९४२ रुपियाँमा सामग्री आपूर्ति गर्नेछ ।
यसैगरी, गाउँपालिकामा आवश्यक सामग्रीको आपूर्ति तथा अन्य व्यवस्थापकीय कार्यका लागि तेल्लाबुङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि ३८ लाख ४२ हजार रुपियाँमा छनोट भएको छ ।
गाउँपालिकाले आह्वान गरेको बोलपत्रमा प्राप्त प्रस्तावमध्ये सारभूत रूपमा प्रभावग्राही, औसत अङ्कसँग नजिक तथा लागत अनुमानभन्दा बढी नभएका प्रस्ताव स्वीकृत गरी निर्माण व्यवसायी तथा आपूर्तिकर्ता छनोट गरिएको गाउँपालिका अध्यक्ष वेनमको भनाई छ ।
छ वटा योजनाका लागि छनोट भएका व्यवसायी तथा आपूर्तिकर्तासँगको कुल सम्झौता रकम चार करोड ९९ लाख १९ हजार ३५७ रुपियाँ रहेको छ ।
