alliance khabar

सोमबार, पुष २१, २०८२

लेखनाथ, पुस २१ गते ।

कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कवि/गीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो ।

कवितागाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले यहाँ पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना भएको बताउनुभयो । अध्यक्ष देवकोटा भन्नुहुन्छ, “एक पटक पुग्नैपर्ने साहित्यिक एवं पर्यटकीय गन्तव्य बनाउन चाहन्छौँ ।”

पोखराका सडकपेटी, पार्क, सिमसार र वनमा सयौँथरी वनफूल फुलिरहन्छन् । सर्जक गौचनले २०६३ मा प्रकाशित कृतिको अनौठो नाम दिनुभएको थियो, ‘पोखरामा फूल फुल्दैन ।’ उहाँका कवितालाई प्रतीकात्मक रूपमा बुझ्नुपर्ने समीक्षक असफल गौतमको तर्क छ । “पोखरा सहरमै घर भए पनि गाउँमा धेरै रम्ने, उतै डुल्ने, लेख्ने गौचनलाई सहरिया जीवन खोक्रो लागेको विम्बात्मक अभिव्यक्ति हो यो,” गौतम भन्नुहुन्छ ।

विसं २०१२ जेठ १३ गते जन्मिनुभएका गौचनको अर्को कविता सञ्चयन पनि छ : ढुङ्गेसाँघुको मेलामा । गौचनलाई अन्तर्मुखी र गम्भीर स्वभावका सर्जकका रूपमा चिन्नुहुन्छ साहित्यकार उषा शेरचन । आफन्तसमेत पर्ने शेरचन सम्झिनुहुन्छ, “मेरो एउटा कविता कपीबाट सुटुक्क सारेर उहाँले गोरखापत्रमा पठाइदिनुभएछ, छापिएपछि पो थाहा पाएँ ।” गौचन अन्तर्मुखी भए पनि अव्यावहारिक भने नभएको शेरचनको भनाइ छ ।

गौचनले २३ वर्षको हुँदा लेखेको ‘जति माया लाए पनि’ गीतले अरुण थापासहित उहाँको पृथक् पहिचान बनाइदियो । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फुल्यौँ तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ लगायतका चर्चित गीतका सर्जक उहाँ नै हुनुहुन्छ । ५८ वर्षको जीवन पाउनुभएका उहाँका दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उहाँका केही गीत अझै आफूसँग रहेको सुनाउनुहुन्छ सङ्गीतकार सुनील थापा । थापाले गौचनका आधा दर्जन गीतमा सङ्गीत भर्नुभएको छ ।

पन्चासे क्षेत्रमा गुरुङ समुदायमा प्रचलित बाटो छेक्ने संस्कारलाई उहाँले स्थायी बनाएको ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’ बोलको गीत कन्दरा ब्यान्डका विवेक श्रेष्ठले स्वर दिएपछि निकै लोकप्रिय बनेको थियो ।

साह्रै कम लेख्ने र लेखेपछि पनि आफूलाई चित्त नबुझी सार्वजनिक नगर्ने गौचनको निधन भएको आइतबार १२ वर्ष भएको छ । स्मृति दिवसमा कवितागाउँको छेउघरमा गौचनको अर्धकदको सालिक अनावरण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल