बागलुङ, पुस १० गते ।
भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो ।
पोखरा पर्यटन परिषद्को अगुवाइमा उहाँसँगै भ्रमणमा आउनुभएका ट्राभल एजेन्सीका अगुवा अनिरुद्र रावतले त पोखरा आउँदा बागलुङ छुटाउनै नहुने गन्तव्य रहेको सुनाउनुभयो । गत साता पर्यटन भ्रमणमा आउनुभएका उहाँहरू त प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँहरूले देखे–भोगेको विषयलाई भारतमा गएर प्रचारप्रसार गर्ने र भारतीय पर्यटकलाई पठाउने काममा लाग्ने बताउनुभयो ।
धार्मिक रूपमा महत्वपूर्ण मानिने शालिग्रामको दर्शनले धार्मिक पर्यटकलाई लोभ्याउने गरेको छ । धार्मिक भ्रमणको यात्रामा आएकादेखि अन्य कामले आउने भारतीय भक्तजनले शालिग्राम सङ्ग्रहालय रोज्ने गर्नुभएको छ । सुरुङभित्र राखिएको शालिग्राम हेर्न आउनेले अनौठो मान्ने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्य बताउनहुन्छ । उहाँले भन्नुभयो, “मुक्तिनाथ जानेले त यहाँ अनिवार्य दर्शन गर्नुहुन्छ । शालिग्रामको महत्व भारत वर्षमा धेरै छ ।” नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा समेत शालिग्राम दर्शनको महत्व बढी भएकाले सो क्षेत्रका पर्यटक बढी आउन थालेको उहाँको भनाइ छ ।
एक लाख १५ हजार शालिग्राम दुई सय मिटर लामो सुरुङभित्र राख्ने सङ्कल्पपछि ऋषि प्रपन्नाचार्य तराई र भारतका सहर पुग्दा प्रचार गर्नुभएको थियो । अहिले कतिपय भारतीय नेपालको पूर्वदेखि पश्चिमसम्म स्थान घुम्न सातदेखि १० दिनको प्याकेज बनाएर आउनुहुन्छ । त्यसका लागि सङ्ग्रहालय र बागलुङ कालिका मन्दिर गन्तव्य बनेका हुन् । उहाँले भन्नुभयो, “हामीले पर्यटक भनेका छैनौँ, भक्तजन धेरै नै आउनुभएको छ । आएका भक्तजनलाई एकरात राखेर बिदाइ गर्छौं ।”
बागलुङको प्रतीकका रूपमा सङ्ग्रहालयको गेटलाई बाघको मुखाकृति बनाइएको छ । हालै सञ्चालनमा आएको इला कम्फर्टले पनि शालिग्राम सङ्ग्रहालयलाई प्रचारका रूपमा जोड्ने गरेको छ । कतिपय भारतीय पर्यटक उक्त होटेलमा बस्न पुग्ने गर्नुभएको छ । दक्षिण भारतको केरला, आन्ध्रप्रदेश, गुजरातलगायतका स्थानबाट बढी भारतीय आउने गरेको सङ्ग्रहालयकै तथ्याङ्कमा उल्लेख छ । भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रामा शालिग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा पार्नुभएको हो । भक्तपुरका वरुणगोपाल श्रेष्ठले पहिलो पटक शालिग्रामको सङ्ग्रह देख्न पाउँदा अद्भुत लागेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “अब आफ्ना टोलछिमेकीलाई पनि शालिग्राम सङ्ग्रहालय घुम्न पठाउने हो ।”
साहसिक पर्यटनसँगै धार्मिक सर्किटमा जोड्दा बागलुङले पर्यटक भित्र्याउन सक्ने भएपछि बागलुङ नगर पर्यटन समितिले पनि धार्मिक पर्यटकलाई प्राथमिकता दिने अध्यक्ष राजु खड्का बताउनुहुन्छ ।

