काठमाण्डौ , मङ्सिर २४ गते ।
काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्रकुमार कुँवर सिफारिस हुनुभएको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि श्रमिक नेता योगेन्द्रकुमार कुँवरको नाम सिफारिस गरेसँगै श्रमिक आन्दोलन थप उत्साहित भएको हो।
लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आउनुभएका कुँवरलाई उम्मेदवारका रूपमा अघि सारिएपछि संगठन तथा श्रमिक वर्गमा उत्साह थपिएको छ।
कुँवरले विभिन्न समयमा निर्णायक भूमिकामा रहँदा श्रमिक अधिकार,सामाजिक सुरक्षा , र श्रम सुधारका मुद्दाहरूलगायत नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूले उहाँको उम्मेदवारी श्रमिक आन्दोलनको प्रतिनिधित्वको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर ट्रेड युनियन कांग्रेसका संरचना तथा ट्रेड युनियनका सदस्यहरू निर्वाचन तयारीमा जुट्न थालेका छन् भने कुँवरको सिफारिसले काठमाडौँ–१० मा निर्वाचन–केन्द्रित राजनीतिक संवाद थप सक्रिय हुन थालेको छ।
हाल नेपाल ट्रेड युनियन कांग्रेसमा करिब ४ लाख ५० हजार श्रमिक आबद्ध रहेको संगठनले जनाएको छ।

