alliance khabar

सोमबार, मंसिर २२, २०८२

बर्दीबास, मङ्सिर २२ गते ।

 तराईका किसानको प्रमुख आयस्रोत मानिने उखु खेती अहिले आन्दोलन, अनिश्चितता र सरकारी ढिलासुस्तीको तेहोरो मारमा परेको छ । उखु किसानले अनुदान पुनःस्थापना र न्यूनतम समर्थन मूल्य कायम गर्न दबाब दिँदै आन्दोलन तीव्र बनाएपछि मुलुकभरकै चिनी मिलको चालु क्रसिङ सिजन (०८२/८३) नै प्रभावित बनेको छ ।

यो अवस्थाले कृषि क्षेत्रको संवेदनशीलता र सरकारी निर्णय प्रक्रियाको कमजोरी दुबैलाई उजागर गरेको छ ।

गत वर्ष समयमा सञ्चालन भएको महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले ३१ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको थियो । तर यस वर्ष किसान आन्दोलनका कारण मिल सञ्चालन पुसतिर मात्रै हुने सम्भावना छ । आफ्ना मागहरु तार्किक र वस्तुपरक रहेको उखु कृषकले दाबी गर्दै आएका छन् ।

उखु उत्पादक कृषक महासंघका केन्द्रीय सदस्य महाशङ्कर थिङले भन्नुभयो, ‘‘चिनी मिलले खरिद गरेको उखुमाथि ७० रुपियाँ अनुदान घटाएर ३५ रुपियाँमा झार्नु आफैँमा अन्यापूर्ण छ । साथै प्रति क्विन्टल ७५० रुपियाँ समर्थन मूल्य माग गर्नु वर्तमान महँगी र कृषि लागत हेर्दा किसानको न्यूनतम आवश्यकता भित्रै पर्छ ।’’

उखु कृषकले देशव्यापी आन्दोलनको तयारी गरेकाले मङ्सिर बित्न लाग्दासमेत मुलुभरकै चिनी मिल सञ्चालन हुन सकेका छैनन् । अहिले महोत्तरी रामनगरको एभरेष्टलगायत सुनसरीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म १३ वटा मिल क्रसिङको पर्खाइमा छन् ।

एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यी मिलले वार्षिक १९ देखि २० लाख क्विन्टल चिनी उत्पादन गर्दै आएका छन् । यो उत्पादन मुलुकको आवश्यकताको तुलनामा करिव १० लाख क्विन्टल घटी हो ।

नेपालमा वार्षिक करिव ३० लाख क्विन्टल चिनी खपत हुन्छ । अपुग चिनी भारत लगायतका तेस्रो मुलुकबाट आयात हुने गरेको उहाँले बताउनुभयो ।

ठाकुरले भन्नुभयो, ‘‘उखु अभावमा नेपालका मिलहरुले क्षमता अनुसार चिनी उत्पादन गर्न सकेका छैनन् । प्रयाप्त उखु पाए स्वदेशमै प्रयाप्त चिनी उत्पादन हुनसक्छ ।’’

उखु उत्पादक कृषक महासंघका केन्द्रीय सदस्य महाशङ्कर थिङका अनुसार चिनीको विदेशी निर्भरता हटाउन उखुको उत्पादन बढाउनुको विकल्प छैन । यसका लागि राज्य गम्भीर हुनु पर्ने हो । यस विपरित उखु किसानको मागप्रति राज्यको उपेक्षा र अनुदारपूर्ण व्यवहारले उखुको उत्पादन घट्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो समस्या मुलुकभरका करिव डेढ लाख उखु किसानको हो । किसानको मागप्रति गम्भीर नभए उखु खेतीबाट विस्थापित हुन किसान बाध्य हुने छन् ।’’

समयमै उखु आपूर्ति हुने अपेक्षामा चिनी मिलहरुले सञ्चालनको प्राविधिक तयारी पूरा गरेको भए पनि आन्दोलन समाधान नहुँदासम्म कहिलेबाट उखु क्रसिङको वातावरण बन्ने हो ? अनिश्चित छ ।

यो अनिश्चितताले चिनी उत्पादन ढिलो हुनु भनेको किसानले काटने बेलाको उखु खेतमै सुकाउनु पर्ने, समयमै भुक्तानी नपाउने र खुट्टी उखुको गुणस्तर खस्किदा चिनी उत्पादनको प्रतिलब्धी (रिकभर) घटने जस्ता जोखिम बढ्नु पनि हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्सिर २९ गतेभित्र समाधानको आश्वासन दिएर किसानलाई ‘पर्ख र हेर’ को अवस्थामा राखेको छ । वार्षिक सिजनमा आधारित कृषि उद्योगमा एक–दुई साताको ढिलाइले समेत ठुलो आर्थिक क्षति निम्त्याउँ छ । यो क्षतिले उद्योगलाई मात्र होइन, उखु खेतीमा आधारित लाखौं कृषक परिवारलाई पनि प्रभावित पार्छ । यसले मुलुकको सकल घरेलु उत्पादन (जीडीपी) लाई पनि असर गर्ने अगुवा कृषकको भनाइ छ ।

सरकारले किसानको उत्पादन लागत, अनुदान संरचना र बजार मूल्यबिचको असन्तुलनलाई तथ्यपरक रूपमा मूल्याङ्कन गरी दिगो रूपमा समाधान निकाल्न आवश्यक रहेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उखु उद्योग नेपालका केही शेष रहेका ठुला एग्रो–इन्डस्ट्रीमध्ये एक हो । यसलाई नोक्सानीमा पार्ने हरेक कदमले दीर्घकालीन रूपमा देशको कृषि–औद्योगिक संरचना कमजोर बनाउँने कुरा सम्वद्ध पक्षले हेक्का राख्नुपर्छ ।’’

केन्द्रीय सदस्य थिङले सरकार, उखु किसान र उद्योगबीच पारदर्शी संवाद र तर्कसंगत मूल्य निर्धारणको आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार उखु क्रसिङ समयमै सञ्चालन गर्नु चिनी उद्योगको मुद्दा मात्र होइन । यो मुलुकभरका करिब डेढ लाख उखु किसानको जीविकोपार्जनसँग जोडिएको समस्या पनि हो ।

उहाँले भन्नुभयो, ‘‘उखु कृषकका समस्या मुलुकको अर्थतन्त्र र कृषि क्षेत्रको विश्वसनीयता जोगाउने यक्ष प्रश्न समेत हो । निर्णयको ढिलाइ सरकारका लागि समेत प्रत्युपादक हुनसक्ने बुझनु पर्छ ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल