तम्घास(गुल्मी), कात्तिक २६ गते ।
गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ ।
गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा नम्बर २ को माथिल्लो कोट वस्तीका लागि एक घर एक धारा विपनामा नभई सपनामा मात्रै सीमित भएको छ ।
दसकौँदेखि खानेपानीका लागि समस्या भोग्दै आएका त्यस वस्तीका नागरिकहरु अझै पनि शुद्ध खानेपानीको पहुँचभन्दा बाहिर रहेका छन् । उनीहरुलाई एक घर एक धारा विपनामा पूरा नभई सपना जस्तै हुने र एक घर एक धारा एकादेशको कथा जस्तै बन्ने गरेको बताउँदै आएका छन् ।
स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनमा खानेपानीको समस्या समाधान गर्ने भन्दै त्यस वस्तीका नागरिकहरुलाई भोट बैङकको रुपमा प्रयोग गर्दै आएका नेताहरुले चुनावी फन्डा मात्रै बनाउने गरेको यहाँका स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
अर्वेनी कोटका स्थानीय युवा तथा समाजसेवी खिमानन्द न्यौपानेले दस वर्ष अगाडिदेखि खानेपानीको समस्या समाधान गर्ने भन्दै आए पनि त्यो पूरा हुन नसकेको बताउनुभयो । स्थानीय सरकार र प्रदेश सरकारले कनिका छरेजस्तो गरी थोरै रकम विनियोजन गर्ने गर्दा पनि एक घर एक धारा सपना जस्तै बन्ने गरेको बताउनुभयो ।
यस्तै, हर्मिचौर सिरकोटकी चन्द्रकला पाण्डेले यस क्षेत्रमा खानेपानीको समस्या समाधानमा कसैको ध्यान नगएको बताउँदै एका बिहानै डोकोमा गाग्री बोकेर पधेरा तथा कुवाहरु धाउन बाध्य भएको बताउनुभयो । देउरालीकी ज्ञानु पाण्डेका अनुसार अव हिउँदको समय सुरु भएकाले गाडीमा पानी ढुवानी गरेर पिउँनुपर्ने समय आएको गुनासो गर्नुभयो ।
यता खानेपानी तथा सरसफाई कार्यालय गुल्मीका कार्यालय प्रमुख सरोज न्यौपानेले गत वर्ष तल डोटनेरी खोलाबाट सिरकोटमाथि पानी तान्ने काम सम्पन्न गरेकाले यस वर्ष केही मात्रामा भए पनि एक घर एक धाराको काम सुरुवात गर्ने बताउनुभयो । यस वर्षका लागि १५ लाख रुपियाँ बजेट रहेकाले एक घर एक धाराको काम सुरुवात गर्ने उहाँको भनाइ छ । १५ लाख रुपियाँले एक घर एक धाराको काम सम्पन्न गर्न नसकिए पनि आगामी आर्थिक वर्षमा काम सम्पन्न गर्ने उहाँको दाबी छ । त्यस क्षेत्रको खानेपानीका लागि देखिएको समस्या हेर्दा दुःख लाग्दो भए पनि पर्याप्त बजेट नहुँदा कार्य सम्पन्न गर्न असमर्थ रहेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा कालीगण्डकी गाउँपालिकाले एक घर एक धाराका लागि ४० लाख रुपियाँ बजेट व्यवस्था गरेको थियो । तर पालिकाले व्यवस्था गरेको बजेट भने कार्यान्वयन हुन सकेन् । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले खानेपानी कार्यालय र आफूहरुको बजेटमा दोहोरोपना देखा पर्ने भएकाले कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । त्यस क्षेत्रमा खानेपानीको समस्या समाधानका लागि आफू लागि परेको उहाँको भनाइ छ ।
