काठमाडौँ, कात्तिक २५ गते ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
यो निर्णय यही कात्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो ।
वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० बर्से सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो । नवनियुक्त महानिरीक्षक कार्कीले अब कात्तिक २७ गतेबाट औपचारिक रूपमा प्रहरी कमान्ड समाल्नु हुने छ ।
कार्कीले विद्यमान ३० बर्से सेवा अवधिका कारण करिब साढे दुई वर्ष प्रहरी सङ्गठनको नेतृत्व गर्नुहुने छ । उहाँको आगामी कार्यकाल १७ चैत २०८४ सम्म रहने छ । सङ्गठनभित्र कार्कीलाई एक इमानदार, व्यावसायिक र कुनै विवादमा नमुछिएका प्रहरी अधिकृतका रूपमा चिनिन्छ । गुल्मीको मालिका गाउँपालिका–७, घमिरमा २०२९ साउन १५ गते जन्मिनुभएका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा मानविकी, शिक्षा शास्त्र र कानुनमा स्नातक गर्नुभएको छ । २८ वर्ष लामो सेवा अवधिमा नवनियुक्त कार्कीले फिल्डदेखि नीतिगत तहसम्मको अनुभव बटुल्ने अवसर पाउनुभएको छ । कार्कीको व्यावसायिक जीवन निकै विविधतापूर्ण र चुनौतीपूर्ण जिम्मेवारीले भरिएको छ । महानिरीक्षक हुनुअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख गत भदौ २४ हुँदा जेनजी आन्दोलन भएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को जिम्मेवारीमा कार्कीले काठमाडौँ जिल्ला प्रहरी परिसरको कमान्ड समाल्दा नै भुटानी शरणार्थी प्रकरण जस्तो देशव्यापी चर्चामा रहेको मुद्दाको अनुसन्धान अघि बढेको थियो । प्रहरी नायव महानिरीक्षक (डिआइजी) हुँदा उहाँले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गर्नुभएको थियो ।

