alliance khabar

सोमबार, कार्तिक २४, २०८२
  • ‘दलसँग रिसाएर होइन, सुधारका एजेन्डा लिएर चुनावमा जाऊ’

काठमाडौं, कात्तिक २४ गते ।

 प्रधानमन्त्री सुशीला कार्कीले स्थानीय सरकारलाई आगामी निर्वाचनको तयारीमा अग्रपङ्तिमा रहने बताउँदै त्यसका लागि सबै तहबीच सुदृढ समन्वयको आवश्यकता औँल्याउनु भएको छ।

बालुवाटारमा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै उहाँले भन्नुभयो,‘‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। तपाईंहरूका चासो सम्बोधन गर्न हामी तयार छौँ।’’

जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै मितव्ययिता नीति र कर्मचारी अभावका चुनौतीबारे ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गर्नुभएको हो।

उहाँले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गर्नुभएको हो।

संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो।

आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उहाँहरुको धारणा थियो।

स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गर्नुभयो।

शान्ति सुव्यवस्थाका लागि सहयोग गर्न आग्रह 

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो।

गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गर्नुभयो।

स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उहाँले आग्रह गर्नुभयो।

स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनुभयो।

उहाँहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो।

प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताउनुभयो।

निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईंहरुसँग समन्वय र सहकार्य नगरी हुन्न। तपाईंहरुका चासो हामी सम्बोधन गर्छौँ। गर्नैपर्छ। चिन्ता नगर्नुहोस्। आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस्। अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ।’’

दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो।

‘‘दलीय पद्धतिमा दल त हुन्छन् नै। दल नभई हुँदैन। माथि दलका कुरा हुन्छन्। तल स्थानीय तहमा विकासका कुरा हुन्छन्। यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ’’ उहाँले भन्नुभयो, ‘आफ्नो काम गर्न छाड्नुहुँदैन। हामीले नै सुधार गर्दै लैजानुपर्छ। पाँच वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। यो हठात् हुन गयो। यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ। मुलुक हाम्रै हो। हामीले नै सुधारेर जानुपर्छ।’

प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘जेनजी छोराछोरी पनि हाम्रै हुन्। पुरानाले बढी ओगटिदिए। मनोमानी गरे। त्यसले विद्रोह जन्मियो। अब दलसँग रिसाएर हुँदैन। तपाईंहरु पनि दल बनाएर जानुहोस् भनेर जेनजीहरुलाई भनेको छु। आफ्ना–आफ्ना एजेन्डा लिएर चुनावमा जाने र शान्तिपूर्ण तवरले आफ्ना सुधारका कार्यक्रम लागू गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।’’

राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको उहाँको धारणा थियो। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल