काठमाडौं, कात्तिक २४ गते।
प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा प्रहरीलाई दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकी हुन्।
सिद्धिकीलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले सिद्धिकीको कोठामा खानतलासी गर्दा ग्यास गनका दुईवटा सेल बरामद गरेको जनाएको छ।
उनीमाथि आपराधिक उपद्रव तथा हातहतियार र खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान र खोजी कार्य भइरहेको जानकारी दिनुभयो।
