तम्घास (गुल्मी), कात्तिक १६ गते ।
हरिबोधनी एकादशीका दिन कालीगण्डकी नदी स्नान गर्ने र शालिग्राम शिला दर्शन गर्नेको भिड लागेको छ । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेणीमा कालीगण्डकी नदी स्नानका साथै शालिग्राम शिलाको दर्शन गर्नेको भिड लागेको हो ।
एकादशीका दिन खाना नखाई कालीगण्डकी नदीमा स्नान गर्नुका साथै शालिग्राम शिलाको दर्शन गर्नाले अन्जानमा गरेका पाप नष्ट हुने र मनले चिताएका कुरा पूरा हुने धार्मिक विश्वास र मान्यता रहँदै आएको छ । शनिबार गुल्मी, स्याङ्जा र पाल्पाको सङ्गमस्थल रिडीमा पनि कालीगण्डकी नदीमा स्नान गर्दै ऋषिकेश मन्दिरको दर्शन गर्नका लागि तीर्थालु तथा भक्तजनको ठुलो भिड लागेको स्थानीयले बताएका छन् ।
रिडीमा कालीगण्डकी नदी स्नान गर्न आएका कालीगण्डकी गाउँपालिका–१, गुल्मीका पुरुषोत्तम पाण्डेले कालीगण्डकी नदीमा स्नान गरी मन्दिर गई दर्शन गर्नाले मनले चिताएको र आँटेका कामले पूर्णता पाउने धार्मिक मान्यता रहेकाले दर्शन गर्न आएको बताउनुभयो । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा पनि एकादशी मेला लागेको छ । रेसुङ्गा क्षेत्रमा रहेको पोखरीमा स्नान गर्ने र शिद्ध र यज्ञशालामा रहेको मन्दिरको दर्शन गर्नेको पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको छ ।
