alliance khabar

बिहिबार, आश्विन ३०, २०८२

बुटवल, असोज ३० गते ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि प्रसूतिका लागि आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले १० महिनाअघिदेखि प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको हो । यसबाट सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुँदै आएको हो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालमा आठ शय्याको रिकभरी वार्ड तथा १५ शय्याको पोस्ट अपरेटिभ शय्यासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालनमा आएपछि प्रसूति सेवा लिन आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । अस्पतालले अहिले हप्ताको सातै दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ । मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज भएको र गर्भवती महिलाले छिटो उपचार सेवा पाउँदा बिरामीले समेत ठुलो राहत पाएको बताउनुभयो ।

अस्पतालबाट विगत तीन वर्षदेखि वार्षिक नौ हजारभन्दा बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका थिए । प्रसूतिका लागि छुट्टै शल्यक्रिया कक्ष बनेपछि ३३ प्रतिशतले शल्यक्रियाको सेवा वृद्धि भएको अस्पतालले जनाएको छ ।

मेसु ढकालले अस्पतालमा पर्याप्त भौतिक संरचनाको अभाव, उपकरण तथा जनशक्ति नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीबाहेक अरू बिरामीलाई महिनौँपछि आउने गरी पालो लगाउनुपर्ने बाध्यता रहेकोमा अहिले सेवा विस्तारपछि सेवाग्राहीले छिटो उपचार सेवा पाउन थालेको बताउनुभयो । अस्पतालले प्रसूतितर्फको शल्यक्रिया कक्ष विस्तार गरेसँगै अन्य रोगका बिरामीले शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने समस्या समाधान भएको अस्पतालको दाबी छ । अस्पतालका अनुसार प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये सात हजार ५४८ जनाले सामान्य रूपमा बच्चा जन्माएका छन् । पछिल्लो आवमा लुम्बिनी प्रादेशिक अस्पतालबाट तीन लाख ६० हजारले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार शल्यक्रिया कक्ष विस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नीसम्बन्धी शल्यक्रिया अहिले एक सातामा तीन दिन भइरहेको छ । नाक, कान, घाँटीसम्बन्धी शल्यक्रियाका लागि पनि पहिले हप्तौँ पालो कुर्नुपर्नेमा अहिले छिटो पालो आउन थालेको छ । उक्त अस्पतालमा दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने बिरामीको चाप बढिरहेकोले अस्पतालले थप सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

त्यसै गरी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि बिरामीले एक वर्षसम्म पालो कुर्नुपर्ने अवस्था थियो तर अहिले शल्यक्रिया गराउन पालो कुनुपर्ने अवस्थाको अन्त्य भएको छ । प्रादेशिक अस्पतालमा विशेष गरी साबिक लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अधिकांश जिल्लाका बिरामीले उपचार सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल