alliance khabar

बुधबार, आश्विन २९, २०८२

काठमाडौँ, असोज २९ गते ।

नवयुवाका नाममा पछिल्लो समय विभिन्न कार्यालय, निकायमा पुगेर कानुनविपरीतका क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ ।

जेनजीका केही अगुवाले कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा दैनिक जसो विभिन्न सरकारी कार्यालयमा पुग्ने र ध्यानाकर्षणपत्र भन्दै कर्मचारीमाथि अमर्यादित गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिमाथि प्रहरीले आवश्यक कारबाहीका लागि निगरानी बढाएको हो ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जेनजीका नाममा विभिन्न कार्यालय पुगेर अमर्यादित क्रियाकलाप गर्ने र कानुनविपरीतका कार्य गर्नेमाथि आवश्यक कानुनी कारबाही भइरहेको बताउनुभयो ।

भट्टराईका अनुसार अनुगमनका नाममा आइतबार खानेपानी संस्थानमा पुगेर होहल्ला गर्ने आठ जनालाई नियन्त्रणमा लिई आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा छाडिएको छ । त्यसै गरी सोमबार तीनकुने चोकलाई जेनजी चोक नामकरण गर्नुपर्ने भनी ब्यानर प्रदर्शन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तिब्बत ओरिजिनल ब्लड (टिओबी) का नाममा शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले टिओबी समूहका तेन्जेन दावालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दावामाथि जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जेनजी आन्दोलनका क्रममा टिओबी लेखिएको झन्डा र टिसर्ट धारण गरेका नकाबधारी केही युवाले विस्फोटको आवाज आउने गरी बुलेट बाइक परिमार्जन गरी ओहोरदोहोर गर्ने र उच्छृङ्खल गतिविधि गरेको भिडियो बाहिरिएका थिए ।

तेन्जेनको समूह के उद्देश्यले जेनजी आन्दोलनमा सहभागी भयो र उसको के कस्तो भूमिका रह्यो भन्नेबारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसै गरी ज्ञापनपत्र बुझाउने नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, नेपाल वायुसेवा निगम न्युरोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा पुगेर अमर्यादित गतिविधि गर्ने केही युवामाथि प्रहरीले आवश्यक कारबाही अघि बढाउने तयारी गरेको छ ।

जेनजी अगुवा बताउने अर्जुनबहादुर शाही नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउने र अनुगमन गर्ने भनी ती कार्यालयमा पुगेर नेतृत्व तथा कर्मचारीलाई तत्काल राजीनामा गराउन दबाब दिँदै अमर्यादित गतिविधि गरेका भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि त्यस्ता गतिविधिको तीव्र आलोचना भइरहेको छ ।

जेनजी अगुवा शाहीका ठगी काण्ड   

आफूलाई जेनजी अगुवा बताउने अछामको पञ्चदेवल विनायक–४ का २६ वर्षीय अर्जुनबहादुर शाही जेनजी आन्दोलनअघि विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइएको छ ।

शाहीले विभिन्न व्यक्तिलाई विदेश पठाउने भनी प्रलोभनमा पारेर रकम ठगी गरेको पाइएपछि प्रहरीले आवश्यक कारबाही गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीका नाममा शाही यसअघि पक्राउ परेका र वैदेशिक रोजगार विभागले कारबाहीका लागि प्रहरीलाई पनि पत्राचार गरेको पाइएको हो ।

शाहीमाथि वैदेशिक ठगीसँगै चेक अनादर (चेक बाउन्स) उजुरी पनि प्रहरीमा दर्ता भएको पाइएको छ । पीडित श्रीकृष्ण फुयाँलले प्रहरी वृत्त महाराजगन्जमा दिएको जाहेरीमा शाहीले तीन लाख ८० हजार रुपियाँ नदिएको दाबी छ । त्यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा शाहीविरुद्ध गत वैशाख २८ गते दर्ता भएको अर्को उजुरीमा शाहीले विभिन्न युवकयुवतीलाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारेर आठ लाख रुपियाँ ठगी गरेको उल्लेख छ । पीडित सुवास तामाङमार्फत दर्ता भएको उजुरीमा शाहीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको उल्लेख छ । शाहीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभागले प्रहरीलाई पत्राचार गरेको खुलेको छ ।

विसं २०८१ वैशाख २७ गते शाहीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा चेक अनादरमा अर्को उजुरी परेको दर्ता भएको पाइएको छ । पीडित रोजिना थापामार्फत दर्ता भएको उजुरीमा शाहीले १० लाख ३० हजार रुपियाँको चेक बाउन्स भएको उल्लेख छ ।   त्यस्तै शाहीविरुद्ध पीडित विद्या श्रेष्ठले गत वैशाख २३ गते प्रहरी वृत्त स्वयम्भूमा दर्ता गर्नुभएको जाहेरीमा सापटीबापत लिएको १० लाख रुपियाँ फिर्तास्वरूप बुझाएको चेक पनि नसाटिएको पाइएको छ । त्यस्तै विसं २०८१ पुस २३ गते शाहविरुद्ध सात लाख रुपियाँको अर्को चेक पनि बाउन्समा उजुरी परेको फेला परेको छ । शाही जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनदेखि सरकारका महत्वपूर्ण कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल