सिन्धुलीमाढी, असोज २० गते ।
पूर्वी नेपाललाई छोटो दुरीमा सङ्घिय राजधानीसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्गको नेपालथोक-भकुण्डेबेसी सडक खण्ड एक वर्षपछि फेरी उस्तै क्षतीग्रस्त बन्न पुगेको छ ।
दुई दिनअघि अबिरल वर्षासँगै रोसीखोलामा आएको बाढीले उक्त खण्डको करिब ३२ किलो मिटर लम्बाई सडकमध्ये करिब चार किलो मिटर अस्थायी डाईभर्सन सडक पूर्ण रुपमा बगाई क्षतीग्रस्त बनाएको छ । गत वर्ष असोज ११ र १२ गतेको अबिरल बर्षापछि रोसीखोलामा आएको बाढीले नेपालथोक–भकुण्डे खण्ड सडकको एक दर्जनभन्दा बढी ठाँउमा सडक बगाई क्षतीग्रस्त बनाएपछि अस्थायी डाईभसर्न बनाई यातायात सञ्चालन गरिएको थियो ।
उक्त खण्डमा अहिले नेपालथोक, बालुवा, माम्तीखोला, डालाबेसी पिप्ले, बोक्सीकुना, चौकीडाँडा लगायत एक दर्जनभन्दा बढी ठाँउमा अस्थायी डाईभर्सन सडक बगाई क्षतबिक्षेत बनाएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार क्षतीग्रस्त करिब चार किलो मिटर लम्बाई सडक मध्ये पाँच सय मिटर सिन्धुली जिल्लातर्फको र बाँकी काभ्रे जिल्लातर्फको सडक क्षती भएको बताइएको छ ।
रोसीखोलाको बाढीले गत वर्ष उक्त खण्ड सडकको जहा, जहाँ भत्काएर क्षतीग्रस्त बनाएको थियो, अहिले त्यही ठाँउमा निर्माण गरिएको अस्थायी डाईभर्सन सडक पूर्ण रुपमा बगाई क्षतीग्रस्त बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नेपालथोक–भकुण्डे खण्ड अन्तर्गत नेपालथोकदेखि अगाडी सिन्धुली जिल्लातर्फ तीन ठाँउमा गरी करिब पाँच सय मिटरभन्दा बढी सडकको अस्थायी डाईभर्सन सडक पूर्ण रुपमा रोसीखोलाको बाढीले बगाएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘स्थालगत निरिक्षणका क्रममा सिन्धुली जिल्लातर्फ नेपालथोकदेखि काभ्रे जिल्लाको सिमाना बर्षेखोलासम्म चार किलोमिटर सडक रोसीको बाढीबाट धेरै क्षती भएको पाइयो । नेपालथोकमा एक ठाँउ र बालुवामा दुई स्थानमा गरी तीन ठाँउमा अस्थायी डाईभर्सन सडक पूर्ण रुपमा बगाएको छ ।’ सिन्धुली जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले आईतबार बाढीपहिरोबाट क्षतीग्रस्त उक्त सडकको स्थलगत निरिक्षण गर्नुभएको थियो ।
सडक क्षतीग्रस्त बनेसँगै नेपालथोक–भकुण्डेबेसी खण्डमा यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ । क्षतीग्रस्त सडकमा तत्काल एक हप्ताको लागि यातायात सञ्चालनको संभावना नदेखिएको पनि प्रमुख जिल्ला अधिकारी भुसालले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले पुननिर्माणलाई प्राथमिकता दिने भनेको छ । बस्तीहरु खुलाउने, सडकहरु खुलाउने भनेको छ । सरकारको प्राथमिकता भयो भने चाँडै यातायात खुलाउन सकिने देखिन्छ ।’
सिन्धुली क्षेत्र नं. २ का निवर्तमान सङ्घिय सांसद लेखनाथ दाहालले सबै निकायले आ–आफ्नो ठाँउबाट तत्कालै आफुले गर्नु पर्ने काम गरेको खण्डमा एक सातामा नै क्षतीग्रस्त स्थानमा अस्थायी डाईभर्सन निर्माण गरी बीपी राजमार्गमा यातायात सुचारु गर्न सकिने बताउनुहुन्छ । रोसी खोलामा पानीको सतह घट्ने बित्तिकै सडक विभाग मार्फत अस्थायी डाईभर्सन सडक निर्माण सुरु गर्ने गरी समन्वय गर्ने काम भइहेको उहाँले बताउनुभयो ।
गत वर्षको बाढी पहिरोपछि नदी नियन्त्रण लगायतका गर्नु पर्ने काम नगरिदा बिपी राजमार्गमा यो वर्ष पनि त्यही प्रकृतिको क्षती व्यहोर्नु परेको उहाँको भनाइ छ । अब बिपी राजमार्गलाई दिगोपना दिन सडक निर्माण र नदी नियन्त्रणको कामसँग सँगै लैजानु पर्ने उहाँको सुझाव छ । बिपी राजमार्गको कुल १६० किलो मिटर लम्बाई मध्ये नेपालथोक–भकुण्डेबेसी खण्ड बाहेकको सडकमा यातायात सुचारु भइरहेको छ ।
